स्थानीय पाठ्यक्रममा शिक्षकको अनुभव (अध्ययन-पत्र)


लेख सार

प्रस्तुत अध्ययन स्थानीय पाठ्यक्रम लागू भएका विद्यालको आधारभूत तहमा स्थानीय पाठ्यक्रम शिक्षण गर्ने शिक्षकहरूको अनुभवलाई उजागर गर्ने लक्ष्य राखिएको छ। यस अध्ययनले नेपालको परिवेशमा स्थानीय पाठ्यक्रम लागु भएका स्थानीय तहको शैक्षिक अवस्थामा केन्द्रित रहेको छ । यस अध्ययनको लागि गुणात्मक अनुसन्धान अन्तर्गत फेनोमेनोलोजी ढाँचाको अबलम्वन गरिएको छ। जसमा गोरखा र काभ्रे जिल्लाका स्थानीय पाठ्यक्रम लागू गरिएका विद्यालयलाई नमुनाको रूपमा लिइएको छ। स्थानीय पाठ्यक्रम लागु गरेका प्रत्येक विद्यालयमा स्थानीय पाठ्यक्रम विषय अध्यापन गर्ने एक/एक जना गरी जम्मा तिन शिक्षकहरूसँग अर्धसंरचित फोन अन्तर्वार्ताबाट तथ्याङ्क सङ्कलन गरिएको छ। यस अध्ययनबाट स्थानीय पाठ्यक्रम निर्माणमा विज्ञको अभाव, कार्यान्वयन गर्न जनशक्तिको अभाव, भाषिक, साँस्कृतिक, तथा जातीय विविधता, भोगौलिक विषमता, सूचना प्रविधिको पहुँच नपुग्नु जस्ता चुनौतीहरू अध्ययनबाट प्राप्त भएको छ। नेपालको भौगोलिक विविधता, सूचना प्रविधिको विस्तारमा समस्या, जातिय विविधताले गर्दा पाठ्यक्रमको निर्माण र कार्यान्वयन गरेर स्थानीय स्रोत र साधनको अधिकतम् उपयोग गर्न सकिन्छ। यस अध्ययनले स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा सघाउ पु¥याउने अपेक्षा गरिएको छ।

प्रमुख शब्दः  स्थानीय, अनुभव, पाठ्यक्रम, स्रोतसाधन, निर्माण, विविधता

परिचय

केन्द्रीकृत पाठ्यक्रमले समावेश गर्न नसकेका विषयवस्तुलाई स्थानीय आवश्यकता पाठ्यक्रममा समावेश गरी निर्माण गरिएको पाठ्यपुस्तक नै स्थानीय पाठ्यक्रम हो”– (अधिकारी, २०७७)। शिक्षालाई विकेन्द्रीत बनाइ प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउने विभिन्न साधन मध्ये पाठ्यक्रमको स्थानीकरण पनि एक हो। “शैक्षिक विकेन्द्रीकरणको एउटा पक्षको रूपमा स्थानीय पाठ्यक्रमलाई लिन सकिन्छ। पाठ्यक्रम कार्यान्वयन गर्ने निकाय तथा व्यक्तिको संलग्नता र सहभागितामा पाठ्यक्रम विकास गरिनु पर्छ भन्ने सैद्धान्तिक मान्यता रहेको छ। पाठ्यक्रम कार्यान्वयन गर्ने निकाय विद्यालय र जिम्मेवार व्यक्ति शिक्षक हुने भएकाले शिक्षकले सिकारुको सहभागितामा विद्यालयमा नै पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्नु पर्छ भन्ने सोचबाट स्थानीय पाठ्यक्रमको अवधारणा विकास भएको हो। स्थानीय पाठ्यक्रम निर्माणमा अभिभावक, स्थानीय समुदायमा रहेका विभिन्न पेसामा संग्लन व्यक्ति, विभिन्न सामाजिक सङ्घ संस्थामा संलग्न व्यक्ति सबैको भूमिका महत्त्वपूर्ण हुन्छ”– (शर्मा, २०७२)।

केन्द्रीय स्तरबाट निर्माण गरिएका पाठ्यक्रमबाट मात्र विविधतायुक्त समाजका सबै आवश्यक पुरा गर्न नसक्ने हुँदा विविध क्षेत्रकोे आवश्यक पुरा गर्नको लागि स्थानीय पाठ्यक्रमको आवश्यक पर्दछ। स्थानीय स्तरमा क्षमता विकासले विकेन्द्रीकरणको सिद्धान्त अनुसार सबै क्षेत्रको विकास गर्न सक्दछ। स्थानीय सरोकारवालाले आफ्नो क्षेत्रमा आवश्यक ठानेका विषय वस्तुलाई समेटी उनीहरूकै स्रोत, साधन, शिक्षाविद्, विज्ञ र सक्रिय सहभागितामा तयार गएिको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो। स्थानीय पाठ्यक्रमले समुदायको आवश्यकतना, सिकारुको रुचि, उमेर, स्तर र स्रोत साधनलाई विशेष महत्त्व दिइ सिकारुलाई सिक्न उत्प्रेरित गर्दछ र सिकाइलाई व्यावहारिक तथा स्थायी बनाउन्दछ। “स्थानीय पाठ्यक्रमले शिक्षक र विद्यार्थीबीच सामीप्य ल्याई समाज र राष्ट्रप्रति उत्तरदायि र जवाफदेही हुन सिकाउनुका साथै परम्परा, मूल्य र मान्यतालाई जगेर्ना गर्छ। स्थानीय पाठ्यक्रमले नयाँ सिप र प्रविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सहयोग गर्छ। यसले वातावरण तथा ग्रामीण जनजीवनको संरक्षणका लाथि समुदायलाई सचेत र सक्रिय बनाउने तर्फ जोड दिँदै सामाजिक आवश्यकता मुद्दा सामाजिक विचार र भविष्यपरक दृष्टिकोण प्रति सचेतता विकास गदर्छ”– (विजुक्छे, २०७५)।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषताहरुले भरिपूर्ण देश हो। एउटै मात्र जाति, भाषा, धर्म संस्कृति र भूगोल भएकोे विद्याथीहरू विद्यालयको कक्षाकोठामा हुँदैनन्। एउटा समुदायमा प्रभावकारी भएको ज्ञान अर्को समुदायमा प्रभावकारी नहुन सक्दछ। जस्तैः जुम्लामा कसरी स्याउ खेती गर्न सकिन्छ भनेर सिकाइयो भने शिक्षण सिकाइ प्रभाकारी हुन्छ तर त्यही ज्ञान काठमाडौँमा सिकाइयो भने त्यो प्रभावकारी हुँदैन।

स्थानीय सरोकारवालाले आवश्यक ठानेका विषय वस्तुलाई समेटी उनीहरूकै स्रोत, विज्ञता र सक्रिय सहभागितामा तयार पारिएको पाठ्क्रम स्थानीय पाठ्यक्रम हो। यसले समुदायको आवश्यकताका साथै सिकारुको रुचि, उमेर, स्तर र स्रोत साधनलाई विशेष ध्यान दिन्छ, सिकारुलाई सिक्नमा उत्पेरित गर्छ र सिकाइलाई स्थायी तथा व्यावहारिक बनाउँछ। यसले शिक्षक र विद्यार्थीबीच सामीप्यता ल्याई समाज र राष्ट्रप्रति उत्तरदायी र जवाफदेही हुन सिकाउनका साथै संस्कृति, परम्परा, मूल्य र मान्यतालाई जगेर्ना गर्छ। स्थानीय पाठ्यक्रमले नयाँ सीप र प्रविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सहयोग गर्छ। यसले वातावरण तथा ग्रामीण जनजीवनको संरक्षणका लागि समुदायलाई सचेत र सक्रिय बनाउनेतर्फ जोड दिँदै सामाजिक आवश्यकता, सामाजिक मुद्दा, समसामयिक विचार र भविष्यपरक दृष्टिकोणप्रति सचेतता विकास गर्छ।

पाठ्यक्रम विकास केन्द्र २०६७ अनुसार स्थानीय पाठ्यक्रम परम्परागत ज्ञान, सीप स्थानीय ज्ञानको उजागर गर्दछ। यसले स्थानीय ज्ञानको खोजी गर्दछ र नवीनतम ज्ञान एवम् सीपको विकासमा सहयोग पु¥याउँछ। स्थानीय मूल्य, मान्यताको संरक्षण र संवर्धनमा सहयोग पु¥याउनुको साथै तिनको हस्तान्तरणमा समेत यसले योगदान पु¥याउँछ। पाठ्यक्रमको स्थानीयकरणले शिक्षकको क्षमता र दक्षता अभिवृद्धि गराउने, विद्यालयको पाठ्यक्रम निर्माण गर्ने संस्थागत क्षमता विकास हुने, समुदाय र विद्यालयको सम्बन्ध सुधार हुने र अभिभावकले समेत पाठ्यक्रम निर्माण र कार्यान्वयनमा चासो राख्ने तथा स्थानीय सरोकारवालाको पाठ्यक्रम निर्माण, कार्यान्वयनदेखि अनुगमन मूल्याङ्कनसम्मका कार्यमा सक्रिय सहभागिता अभिवृद्धि गर्दछ।

भक्तपुर नगरपालिका स्थानीय पाठ्यक्रम २०७६ का अनुसार “स्थानीय पाठ्यक्रमको विशेषता भन्नु नै सैद्धान्थितक पक्ष सँगसँगै व्यावहारिक पक्षलाई जोड दिई कुनै पनि (संस्कृति, संस्कार आदि) प्रचलनमा ल्याउनुको कारण र महत्त्वको जानकारी प्राप्त गराउनु हो, यस पाठ्यक्रममा दिइएका पाठ्यांशहरू शिक्षण गर्दा अन्तर्क्रिया विधि, छलफल विधि, खोजिनीति विधि अथवा बालकेन्द्रित क्रियाकलापमा जोड दिइन्छ।” “स्थानीय सरोकारवालाहरूको सहभागितामा स्थानीय आवश्यकता अनुसार विषयवस्तुहरू समावेश गरी निर्माण तथा कार्यान्वयन हुने आठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ। हाम्रो मुलुक सानो भएता पनि यसको वस्तु स्थिति विविधतापूर्ण छ। भौगोलिक, सांस्कृतिक, भाषिक, जातीय आदि कुराहरूमा विविधता छ। विभिन्न ठाउँमा पाठ्यक्रमका विभिन्न स्रोतहरू छन्। विभिन्न ठाउँका मानिसहरूको आवश्यकता र चाहना फरकफरक हुन्छन्। त्यसैले केन्द्रमा निर्माण गरिएको पाठ्यक्रमका सबै अंश सबै क्षेत्रमा हुबहु लागू गर्न नसिकने हुन्छ”– (शर्मा, २०७३)।

“धार्मिक, सामाजिक सांस्कृतिक सङ्घसस्था समुदायका विभिन्न क्षेत्रमा कार्य गरिरहेका गुठी, धार्मिक मठमन्दिर, गुम्बा, विहार, मस्जिद आदि सञ्चालन गरिरहेका समूह तथा समुदायले आफूसँग भएको सूचना उपलब्ध गराउने त्यससम्बन्धी विषयवस्तु स्थानीय पाठ्यक्रममा राख्न लगाउने, स्रोत व्यक्तिको रूपमा विद्यार्थीलाई सिकाउने जस्ता कार्यहरू अतिरिक्त स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा भूमिका हुन्छ। यी बाहेक सामाजिक सेवामा समुदाय परिचालन, पाठ्यक्रम निर्माण गर्दा आवश्यक सूचना उपलब्ध गराएर र कार्यान्वयनमा स्रोत व्यक्ति उपलब्ध गराएर सहयोग गर्न सक्छ”– (अधिकारी, २०७७)।

“शिक्षक, प्रशिक्षक तथा पेसागत सङ्घगठन शिक्षण पेसामा कार्यरत सङ्घ सङ्गठन, प्रशिक्षण संस्थामा कार्यरत व्यक्ति तथा संस्थाले पनि स्थानीय पाठ्यक्रम निर्माणमा आयोजक भएर पाठ्यक्रम निर्माणसम्बन्धी ज्ञान भएकाले प्राविधिक सहयोग गरेर, विशेषज्ञता प्रदान गरेर र विषयगत, तहगत, समुदायगत आदि स्रोत सामग्री उपलब्ध गराएर योगदान गर्न सक्छन्। यस सम्बन्धी शिक्षा र अन्य क्षेत्रमा कार्यरत सङ्घसङ्गठनले पनि सहयोग गर्न सक्दछन्। जस्तो स्वास्थ्य प्रशिक्षण सस्था, निर्माण मर्मतसम्बन्धी संस्था जस्ता परम्परात रूपमा सञ्चालित पेसाकर्मी तथा संस्थाले यस क्षेत्रमा सहयोगको भूमिका निर्वाह गर्न सक्छन्”– (पाठ्यक्रम विकास केन्द्र,२०६७)।

“स्थानीय समुदायामा विभिन्न उद्योगी व्यवसायी रहेका हुन सक्छन्। स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयनमा उनीहरूले पनि सहयोग गर्न सक्छन्। पाठ्यक्रममा कामसँग सम्बन्धित विषयवस्तु राख्न सहयोग गर्न कार्यान्वयनको क्रममा उनीहरूका उद्योग तथा व्यवसाय सञ्चालन भएका स्थानमा सिकाउन सकिने हुन सक्छ । त्यसै गरी स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयनमा गैरसरकारी संस्थासँग पनि साझेदारी गरी सहयोग लिन सकिन्छ”– (अधिकारी, २०७७)।

प्रस्तुत अध्ययनको प्रमुख उद्देश्य स्थानीय पाठ्यक्रममा शिक्षकको अनुभवको पहिचान गर्नु रहेको छ। सो पत्ता लगाई स्थानीय पाठ्यक्रमको निर्माण, कार्यान्वयनको समस्याको पहिचान गर्नु र प्रभावकारीताको लागि सुझाव संकलन गर्नु रहेको छ। तसर्थ प्रस्तुत अध्ययन निम्न अनुसन्धानात्मक प्रश्नहरूमा आधारित रहि अध्ययन गरिएको छ। स्थानीय पाठ्यक्रममा शिक्षकहरुको अनुभव कस्तो छ?, स्थानीय पाठ्यक्रममा विद्यार्थीहरुको रुचि कसरी बढाउन सकिन्छ? र स्थानीय पाठ्यक्रमको विकास कसरी गर्न सकिन्छ?

अध्ययन विधि

मैले यस अध्ययनमा मानवशास्त्रीय गुणात्मक ढाँचाको अवलम्बन गरेको छु। गुणात्मक अनुसन्धान अन्तर्गतको फेनोमेनोलाजी अध्ययनले व्यक्तिका अनुभूतिलाई केन्द्र विन्दुमा राखेर सामाजिक यथार्थको खोजी गर्दछ। “व्यक्तिका अनुभूति वा अनुभवकै आधारमा बहुसत्य, निर्माण भएको मान्यताका आधारमा यस अध्ययनले व्यक्तिले आफ्नो अनुभवहरूको जसरी अर्थ दिएका हुन्छन् त्यसरी नै उनीहरूका अनुभवहरूको व्याख्या र विवेचना गर्दछ”– (खनाल, २०७४, पृ.४७)।
गोरखा र काभ्रे जिल्लाका स्थानीय पाठ्यक्रम लागु गरिएका विद्यालयलाई नमुनाको रूपमा लिइएको छ। स्थानीय पाठ्यक्रम लागु गरेका प्रत्येक विद्यालयमा स्थानीय पाठ्यक्रम विषय अध्यापन गर्ने एक/एक जना गरी जम्मा तीन जना शिक्षकहरूसँग अर्धसंरचित फोन अन्तर्वार्ताबाट तथ्याङ्क सङ्कलन गरिएको छ।

स्थानीय पाठ्यक्रममा अनुभव भएका शिक्षकहरूलाई, विषय शिक्षण गर्ने शिक्षकलाई सूचकको रूपमा लिएको छु। ती शिक्षकहरूसँग लिइएको फोन अन्तर्वार्तालाई आधार मानी भौगोलिक, सांस्कृतिक र आर्थिक विविधता, स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनको लागि विज्ञको अभाव र भाषागत समस्या तथा सूचना प्रविधिको अभाव समस्यालाई व्याख्या विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरेको छु।

प्राप्ति र छलफल

केन्द्रीय स्तरमा बनाइएको पाठ्यक्रमले सबै स्थानीय तहको आवश्यकतालाई समेट्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नु पर्ने बुझिन्छ। स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया प्राज्ञिक तथा प्राविधिक कार्य हो त्यसकारण स्थानीय पाठ्यक्रम निर्माण गर्ने विज्ञको अभाव रहेको देखियो। स्थानीय पाठ्यक्रम निर्माण गर्दा स्थानीय तहको आवश्यकता पहिचान गरी विद्यार्थीहरूको रुचि, उमेर, स्तर, मनोविज्ञान बुझि पाठ्यक्रमा निर्माण गर्नु पर्ने देखिन्छ। यस अध्ययनमा स्थानीय पाठ्यक्रम शिक्षण गर्दा शिक्षकले भोग्नु परेका चुनौतीहरूलाई उनीहरूको अनुभवबाट प्रस्ट थाहा पाउन सकिन्छ। यस अध्ययनमा मैले ज्ञानको स्रोतको रूपमा शिक्षकहरूले शिक्षण गर्दा भोग्नु परेका समस्याहरूको अनुभव लिएको छु। गोरखा र काभ्रे जिल्लाको सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षकसँग गहिरो र लामो अन्तर्वार्ता लिई उनीहरूको शिक्षणीय अनुभव र समस्या र प्रभावकारी शिक्षण तरिकाबारे तथ्याङ्क लिएको छु। मेरो अध्ययनीय समस्या र उद्देश्यमा केन्द्रित भई स्थानीय पाठ्यक्रम शिक्षण गर्ने तिन जना शिक्षकहरूबाट फोन अन्तर्वार्ताका आधारमा अध्ययनलाई निष्कर्षमा पु¥याएको छु।

मैले स्थानीय पाठ्यक्रम लागु गरिएका फरक–फरक विद्यालयका तीनजना शिक्षकहरूसँग टेलिफोनको माध्यमबाट उनीहरूका जीवन्त अनुभव तथा अनुभूतिको अन्तर्वार्ता लिएको थिएँ। मैले अन्तर्वार्ता लिएको शिक्षकलाई पहिलो सहभागि, दोस्रो सहभागि र तेस्रो सहभागिको रूपमा लिएको छु। अन्तर्वार्तामा लिइएको तथ्याङ्कलाई भिन्न कालखण्डमा भिन्न नियमहरूको व्याख्या गर्नको लागि फ्रेन्च दार्शनिक मिसेल फुकोको व्याख्या विश्लेषण सिद्धान्तका आधारमा व्याख्या विश्लेषण गरेको छु।

भौगोलिक, सांस्कृतिक र आर्थिक विविधता

स्थानीय पाठ्यक्रममा भौगोलिकताले धेरै असर गरेको पाइन्छ। नेपाल भौगोलिक विविधतायुक्त राष्ट्र हो। नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ। हिमाल, पहाड र तराईमा फरक–फरक वस्तुहरू उत्पादन हुन्छन् । आवश्यकता पनि क्षेत्र अनुसार फरक हुन्छन्। जस्तैः हिमाली भेगमा स्याउ खेती हुन्छ भने त्यहाँको स्थानीय पाठ्यक्रम स्याउ खेती कसरी गर्ने, स्याउलाई विषादी किराहरूबाट कसरी बचाउने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरू समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण गर्न सकेमा त्यस ठाउँको लागि त्यो पाठ्यक्रम प्रभावकारी हुन्छ भने पहाडी भेगमा सुन्तला जुनारको खेती हुन्छ भने जुनार खेती कसरी गर्ने त्यसलाई किराहरूबाट बचाउन के गर्नु पर्छ र बजार व्यवस्थापन गरेर कसरी आम्दानी बढाउन सकिन्छ भन्ने कुराहरू समावेश गरी पाठ्यक्रम निर्माण गर्नुपर्छ। तराईमा उखु, आँप खेती हुन्छ त्यही अनुसारको पाठ्यक्रम निर्माण गरी लागु गर्न सकेमा स्थानीय पाठ्यक्रमले नेपालको आर्थिक अवस्थालाई उकास्न सक्दछ।

पहिलो सहभागिको अनुभव अनुसार “स्थानीय स्रोत साधनलाई समावेश गरी पाठ्यक्रम निर्माण गरी त्यस पाठ्यक्रम शिक्षणबाट आम्दानी भएका वस्तुलाई बजार व्यवस्थापन गरी आर्थिक आम्दानी गर्न सक्नु पर्दछ । स्थानीय पाठ्यक्रम लागु गरेर आर्थिक स्थितिलाई उकास्न सकियो भने राज्यको अर्थतन्त्रमा ठूलो सेवा पुग्दछ। जस्तैः निहालो, बाँस प्रशस्त पाइने ठाउँमा त्यसबाट विभिन्न सामग्रीहरू डोको, डालो, टोप, छत्री, टोकरी विद्यार्थीहरूलाई बनाउन सिकाएर बजार व्यवस्थापन ग¥यो भने विद्यार्थीहरूले चासो देखाएर स्थानीय पाठ्यक्रमबाट शिक्षा लिन उत्साहित हुन्छन्।”

माथि सहभागीकाे भनाइ अनुसार स्थानीय पाठ्यक्रम निर्माण पहिचान गर्नु पर्दछ। स्थानीय तहको विविधतालाई सम्बोधन गर्न सक्ने पाठ्यक्रम सीपमूलक, व्यावहारिक, जीवन उपयोगी हुनु पर्दछ। स्थानीय पाठ्यक्रम अध्ययन पश्चात् विद्यार्थीहरूले आर्थिक अवस्थालाई सुधार गर्न सहयोग पु¥याउने हुनुपर्दछ। खेरा गइरहेका स्थानीय स्रोत साधनको सदुपयोग गरी बजारीकरण व्यवस्थापन गर्नु पर्दछ। स्थानीय स्रोत र साधनको अधिकतम् उपयोग हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्दछ।

दोस्रो सहभागीका अनुभव अनुसार “पाठ्यक्रम निर्माण कार्य आफैँमा एकदम चुनौतीपूर्ण कार्य हो। त्यसमा यो स्थानीय तहको पाठ्यक्रम निर्माण गर्न झनै बढी चुनौतीपूर्ण छ किन भन्दा खेरी पहिलो त हाम्रो नेपालको परिप्रेक्षमा विविध जातजाति, धर्म, संस्कृति, रीति, संस्कार, जनजातिहरू रहेको ठाउँ हो। त्यही भएर यसमा पहिलो त पाठ्यक्रम छनोटमा चुनौती छ। कस्तो किसिमको पाठ्यक्रम चाहिन्छ भन्ने कुरामा अन्यौल छ । त्यसैले पाठ्यक्रम छनोटका लागि समस्या छ। पाठ्यक्रम छनोट पछि त्यसलाई कार्यान्वयनको लागि पनि चुनौती छ। जस्तै छनोट गर्नु प¥यो भने अब विभिन्न जातजातिहरू एउटै कक्षाकोठा भित्र गुरुङ्, नेवार, मगर कम्तिमा पनि हाम्रो स्थानीय तहमा हेर्ने हो भने एउटा कक्षामा कम्तिमा पनि ३० जना विद्यार्थी हुन्छन् भने १० वटा भन्दा बढी चाँहि इन्थो ग्रुपहरू रहेका हुन्छन्।”

माथिको भनाइबाट के प्रस्ट हुन्छ भने हामीले शिक्षण गर्ने कक्षामा जातिय, साँस्कृतिक,भाषिक विविधताहरु पाइन्छन्। सम्पूर्ण जातिलाई समेट्ने गरि पाठ्यक्रम निर्माण गर्नु ज्यादै चुनौतिपूर्ण कार्य हो । जनजातिहरुको बाहुल्यता रहेको कक्षामा स्थानीय पाठ्यक्रम निर्माण तथा लागू गर्नको लागि सीपयुक्त जनशक्तिको आवश्यकता पर्दछ। स्थानीय पाठ्यक्रमको निर्माण गर्दा कुन भाषालाई प्राथमिकता दिने भन्ने अर्को चुनौती रहेको छ।

“तेस्रो सहभागीको भनाइ अनुसार “केन्द्रमा बनेको पाठ्यक्रम विभिन्न भौगोलिक विविधता, प्राकृतिक स्रोत साधनको विविधतालाई समेट्न सक्दैन। त्यसैले स्थानीय आवश्यकता अनुसार जुन स्थानीय आवश्यकता परिपूर्तिका लागि सहयोग गर्न सक्छ। पाठ्यक्रम त्यसले गर्दा उत्पादनसँग पनि हामीले जोड्न सक्छौं । त्यसको प्रतिफल आम्दानी हुन्छ। आम्दानी प्राप्त हुँदै गएपछि केटाकेटीहरूले पनि अझ बढी उत्प्रेरित हुन्छ भन्ने मलाई लाग्छ जस्तो अब वेत, बाँस, नियालो प्रशस्त हुने ठाउँमा हामीले वेद, बाँस, नियालोबाट टोकरी, ¥याकहरू बनाउन विभिन्न सजावटका सामानहरू बनाउन सकिन्छ त्यो बनाएपछि तुरुन्त विद्यार्थीहरूले सीप सिक्दछन्। त्यसबाट आम्दानी भएपछि झन विद्यार्थीहरू स्वाभाविक रूपमा उत्प्रेरित हुन्छन्। जस्तो अब जुनारको खेती जुनारको उत्पादन प्रशस्त हुने या त स्याउ खेती हुने ठाउँमा हामीले त्यसलाई समावेश ग¥यौँ भनेदेखि स्थानीय बालबालिकाहरूले त्यससँग सम्बन्धित ज्ञान, सीप अभिबृद्धि प्राप्त गरिसकेपछि व्यवहारिक सिप प्राप्त गरी त्यसबाट विद्यार्थीहरूले आयआर्जन गर्न सक्छन्।”

जातिय तथा भौगोलिक विविधतायुक्त समाजमा निर्माण गरिने पाठ्यक्रमले स्थानीयको आर्थिक स्तर उकास्नलाई टेवा दिने हुनुपर्दछ। स्थानीय उत्पादनलाई व्यवसायिक रुपमा विकास गर्नलाई मार्ग निर्देशन गर्ने खालको पाठ्यक्रमको विकास गर्नुपर्दछ।

नेपालमा बहुजाती, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिले भरिपूर्ण भएको देश हो। यहाँ एउटै समुदायमा विभिन्न जाती, भाषी, संस्कृति, रीतिरिवाज भएका मानिसहरू बसोबास गर्दछन्। त्यसकारणले गर्दा स्थानीय पाटठ्यक्रम निर्माण गर्दा कुन भाषालाई अपनाउने भन्ने कुरामा अन्योल छ। कुन भाषा, संस्कृतिलाई अंंगालेर स्थानीय पाठ्यक्रम निर्माण गर्ने भन्ने कुराको अझै पनि दुविधा छ जस्तैः नेवारी भाषामा स्थानीय पाठ्यक्रम निर्माण ग¥यो भने एउटा विद्यालयमा नेवार परिवारका मात्र विद्यालयमा पठनपाठन गर्न आउँदैन। एउटा कक्षाकोठामा मिश्रित भाषा संस्कृति भएको विद्यार्थीहरू हुन्छन्। मिश्रित भाषा संस्कृतिमा स्थानीय पाठ्यक्रम निर्माण गरी अध्ययन गराउन सम्भव हुँदैन। दोस्रो सहभागीको भनाइ अनुसार “भाषा विशिष्ट कुरा होइन सिक्ने कुरा चाँहि महत्त्व छ। विभिन्न विद्यार्थीहरूले जुन सुकै भाषामा पढे पनि त्यो सिक्नु पर्ने कुरा कति सिक्यो भन्ने चाँहि महत्त्वपूर्ण हो। स्थानीय भाषा भन्नाले जोडिएको त्यो समुदायको जातीय, संस्कार, संस्कृति सबै थोकको प्रवर्धन हुन्छ, जुन पूरै समाजकै प्रवर्धन भइरहेको हुन्छ ।

स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनको लागि विज्ञको अभाव

केन्द्रीय तहमा बनाइएको पाठ्यक्रमले स्थानीय तहको आवश्यकतालाई सम्ट्न नसक्ने भएकोले स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि स्थानीय निकायलाई जिम्मा दिएको छ। स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्नको लागि कुनै तालिमको व्यवस्था छैन। विज्ञहरू कुन विषयवस्तु छनोट गर्ने कस्ता कस्ता विषयवस्तुलाई पाठ्यक्रममा राख्ने भन्ने कुराहरूमा अझै पनि अन्यौल छन्। पाठ्यक्रमलाई कार्यान्वयन गर्नको लागि जनशक्तिको अभाव छ । स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिन सकेको छैन।

स्थानीय पाठ्यक्रम निर्माण कार्य एक चुनौतीपूर्ण कार्य मानिन्छ। मैले गरेको अन्तर्वार्ता क्रममा प्राप्त पहिलो सहभागिको धारणामा “स्थानीय स्तरमा स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने जनशक्तिको अभाव रहेको छ। पाठ्यक्रम निर्माणको लाथि पाठ्यक्रमको विषयमा अध्ययन गरेका विज्ञ टोलीको अभावमा कार्यान्वयन पनि चुनौती रहेको छ। स्थानीय स्तरमा रहेको जातीय, धार्मिक र सांस्कृतिक विविधताले गर्दा स्थानीय पाठ्यक्रम निर्माणमा तथा कार्यान्वयनमा अप्ठ्यारो परेको पाइन्छ।”
माथिका धारणाबाट के बुझ्न सकिन्छ भने स्थानीय पाठ्यक्रम निर्माण कार्य एक समसामयिक मुद्दा हो। यसको लागि दक्ष जनशक्तिको तयारी गर्नु पहिलो आवश्यकता हो। पाठ्यक्रम निर्माण स्थानीय जनशक्तिलाई तालिम दिने, अध्ययन सामग्रीहरू निर्माण गर्ने, स्थानीय निकायमा पाठ्यक्रम परिमार्जन तथा सुझाव सङ्कलनको लागि छुट्टै विभागको गठन गरी आवश्यक काम कारबाही अगाडि बढाउनु पर्दछ  विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीको धारणाहरू पनि बुझ्नु पर्ने देखिन्छ। विद्यालय तथा विद्यार्थीको पारिवारिक वातावरण आवश्यकता र दिगोपनाको लागि आवश्यक अध्ययन गर्नु पर्ने देखिन्छ।

दोस्रो सहभागीको भनाइ अनुसार “स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि नेपालको सन्दर्भमा धेरै चुनौतीपूर्ण छ। स्थानीय पाठ्यक्रम निर्माण गर्न सरकारले स्थानीय तहलाई नै जिम्मेवारी दिएको छ। त्यसैले स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्नको लागि विज्ञको अभाव छ। पाठ्यक्रम निर्माण कसरी गर्ने, कुन विषयवस्तु छनोट गर्ने, विषयसूची कसरी राख्ने भन्ने कुराहरूमा अन्योल छ। पाठ्यक्रम निर्माण गर्न तालिमको व्यवस्था नभएको कारणले स्थानीय पाठ्यक्रम निर्माण गर्न एकदम चुनौतीको रूपमा रहेको छ। स्थानीय पाठ्यक्रम निर्माण गरे पनि त्यसलाई निरन्तरता दिन झनै कठिन छ। जस्तैः तामाङ भाषामा स्थानीय पाठ्यक्रम निर्माण गरेको छ भने विद्यालयमा तामाङ भाषिक विद्यार्थीहरू मात्र आउँदैनन्। अरू भाषिक विद्यार्थीहरू आउने भएकोले एउटै कक्षाकोठामा धेरै भाषिक विद्यार्थीहरूलाई राखेर तामाङ भाषामा शिक्षण गर्न चुनौतिपूर्ण छ। त्यसै गरी तामाङ भाषामा शिक्षण गर्ने शिक्षकको पनि अभाव छ। शिक्षकलाई तालिमको व्यवस्था छैन। तालिम नलिएको शिक्षकले शिक्षण गर्न सक्दैन। तालिम लिएको शिक्षक भए पनि सुविधा पाएपछि त्यस विद्यालयलाई बीचैमा छोडेर सुविधा भएको विद्यालयमा जाने भएकाले स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिन धेरै कठिनाइ छ।”

माथिको अनुभवबाट के बुझ्न सकिन्छ भने स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि विज्ञहरूको लागि कुनै तालिमको व्यवस्था छैन। तालिमको व्यवस्था नभएकै कारण स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सकेको छैन। स्थानीय पाठ्यक्रम निर्माण गरे पनि शिक्षण गर्नको लागि दक्ष शिक्षकहरूको अभाव देखिन्छ।

तेस्रो सहभागीको अनुभव अनुसार “स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि स्थानीय तहलाई जिम्मा दिइएको छ। स्थानीय तहले यसलाई सहजीकरण गर्दछ र यसको लागि वास्तवमा स्थानीय उपलब्ध स्रोत साधनहरूको पहिचान गरिन्छ र विज्ञहरूको सहयोगले पाठ्यक्रम निर्माण गर्न विभिन्न चरणहरूको पार गरेर पाठ्यक्रम निर्माण गर्नु पर्दछ।”

स्थानीय पाठ्यक्रम निर्माणको जिम्मेवार निकाय स्थानीय तह हो। स्थानीय विज्ञद्वारा नै स्थानीय पाठ्यक्रम निर्माणको लागि भौतिक तथा मानवीय स्रोत व्यवस्थापन स्थानीय निकायले गर्दछन्। स्थानीय पाठ्यक्रम निर्माणको लागि विभिन्न चरणहरू पार गर्नु पर्दछ। स्थानीय स्रोत साधनको पहिचान र उपयोग गर्नु पर्दछ। स्थानीय पाठ्यक्रम निर्माण गर्ने क्रममा उपयोग हुने मानव स्रोतहरूमा शिक्षक, विद्यार्थी अभिभावहरूको पनि सल्लाह लिनु पर्दछ।

भाषागत समस्या तथा सूचना प्रविधिको अभाव

स्थानीय पाठ्यक्रम निर्माणको लागि भाषिक विविधताले चुनौति दिएको पाइन्छ। नेपालको संविधानको धारा २८७ बमोजिम गठन भएको भाषा आयोगले मिति वि.स. २०७६ कार्तिक १८ मा राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा नयाँ ६ वटा भाषा थपिएकोले हाल नेपालमा जम्मा १२९ भाषा बोलिन्छ। एउटै समुदायमा विविध जातिको मानिसहरू बसोबास गर्छन्। भाषा पनि फरक फरक बोलिने भएकोले स्थानीय पाठ्यक्रममा कुन भाषालाई समावेश गर्ने भन्ने कुरामा समस्या रहेको छ। जस्तैः मगर भाषामा स्थानीय पाठ्यक्रम निर्माण ग¥यो भने त्यहाँ अरू भाषा बोल्ने विद्यार्थीहरूले मगर भाषा बुझ्न सक्दैँनने त्यसैले स्थानीय पाठ्यक्रम निर्माण गर्न भाषा चुनौतीको रूपमा रहेको छ। भौगोलिक विविधताको कारणले गर्दा अझैसम्म पनि कति ठाउँमा सूचना प्रविधि सुविधा पुगेको छैन।

पहिलो सहभागीको भनाइ अनुसार “स्थानीय स्तरमा जातीय विविधता रहेकोले कक्षाकोठामा भाषिक विविधता रहेको छ। यस्तो अवस्थामा पाठ्यक्रमको निर्माण गर्दा कुन भाषा प्रयोग गर्ने समस्या तथा अन्योलता आउने गर्दछ। अल्पसंख्यक भाषा बोल्ने विद्यार्थीहरू उपस्थितिमा एउटा भाषाको प्रयोग गर्दा अर्को भाषाको उपेक्षा गरेको देखिन्छ , यसले सामाजिक रूपमा पनि विभेद औल्याउन सक्ने देखिन्छ। साथै स्थानीय स्तरमा पाठ्यक्रम तथा स्थानीय भाषिक दक्ष भएको मानिसको अभाव छ। पाठ्यक्रमलाई प्रविधिमैत्री बनाउनुृ अर्को चुनाती देखिन्छ। अधिकांश स्थानीय निकायहरू ग्रामीण परिवेश र भौगोलिक रूपमा पनि विकट स्थानमा रहेकोेले त्यहाँ आधुनिक सूचना प्रविधि सम्बन्धि ज्ञानको अभाव देखिन्छ। जसको असर स्थानीय पाठ्यक्रम निर्माणमा पर्दछ।”

माथिको भनाइबाट के प्रष्ट हुन सकिन्छ भने स्थानीय पाठ्यक्रम निर्माणको लागि स्थानीय भाषा छनोट प्रमुख चुनौती छ किनकी नेपालको कानुनमा सबै भाषालाई पाठ्यक्रम निर्माणमा बराबर मान्यता दिएको छ। एउटा भाषालाई प्रयोग गर्दा अर्को भाषालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा चनौतीपूर्ण छ साथै निर्माण गरिएको पाठ्यक्रमलाई कसरी प्रविधीमैत्री बनाउने त्यो पनि समस्या छ । किनकी सूचना प्रविधिमा अङ्गेजी भाषाको प्रयोग बढी भएको पाइन्छ। स्थानीय भाषा, अङ्ग्रजी भाषा र सूचना प्रविधिसँग समन्वय गर्ने कार्यं प्रमुख चुनौती हो। त्यसको समाधान गर्न सके पाठ्यक्रम कार्यान्वयनमा दिगोपना आउन सक्दछ।

दोस्रो सहभागीको अनुभव अनुसार “उत्पादनशील, सिर्जनशील, गुणात्मक, राष्ट्रिय चिन्तनमुखी रोजगारमूलक र विश्व परिवेशअनुकूलको शिक्षाको व्यवस्थापन गरी दक्ष जनशक्ति विकास गर्न स्थानीय पाठ्यक्रमले स्थानीय आवश्यकता, विज्ञको उपलब्धता, स्रोत साधनको परिचालन, शैक्षिक सामग्रीको निर्माण जस्ता मुद्दा सम्बोधन गर्नुपर्छ।”

माथिको भनाइबाट स्थानीय पाठ्यक्रम शिक्षणबाट विद्यार्थीहरूलाई सिर्जनशील बनाइ उनीहरूको जीवनयापन गर्न सजिलो बनाउनु पर्दछ। स्थानीय पाठ्यक्रमले विश्व परिवेशलाई समेट्न सक्नु पर्दछ। हाम्रो खेरा गइरहेको स्रोत साधनलाई सदुपयोग गरी विभिन्न सामग्री बनाई अन्तर्राष्ट्रिय बजारीकरण गर्नु पर्दछ।

तेस्रो सहभागीको अनुभव अनुसार “शिक्षाको राष्ट्रिय उद्देश्यमा स्थानीय स्तरका पेसा, व्यवसाय एवम् रोजगारलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय रोजगारी तर्फ उन्मुख, उत्पादनमुखी र सिपयुक्त नागरिक तयार गर्न, नेपाली कला, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यको संरक्षण, संवर्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्ने, समाजको आधुनिकीकरणमा सहयोग गरी देश निर्माणका लागि मानव संसाधनको विकास गर्ने जस्ता लक्ष्य राख्नु पर्दछ।”

स्थानीय पाठ्यक्रम सिपमूलक हुनु पर्दछ। स्थानीय पाठ्यक्रम शिक्षण दिगो हुनु पर्दछ। विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम शिक्षण गरे पश्चात् जुनसुकै ठाउँमा गएर पनि आफ्नो क्षमताले देखाउन सक्ने खालको बनाउनु पर्दछ। स्थानीय पाठ्यक्रम निर्माण गर्दा आधुनिकीकरणलाई ध्यान दिनु पर्दछ। केन्द्रीय तहमा निर्माण गरिने पाठ्यक्रमबाट मात्र सो अनुरूपको उद्देश्यपूर्ण रूपमा पुरा गर्न सक्दैन। पाठ्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश र स्थानीय विविध आवश्यकतालाई सम्बोधन गर्नु चुनौतीपूर्ण छ।

निष्कर्ष

केन्द्रीय पाठ्यक्रमले समावेश गर्न नकसेका स्थानीय विषयवस्तुलाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण गर्नु पर्दछ। स्थानीय पाठ्यक्रममा स्थानीय संस्कृति, भेषभूषा, स्रोतसाधन, भाषा, ऐतिहासिक पुरातात्विकहरूलाई समावेश गर्न सक्नु पर्दछ। स्थानीय पाठ्यक्रमले समुदायको पहिचान गर्दै राष्ट्रसम्म पु¥याउने, राष्ट्रको पहिचान गरी अन्तर्राष्ट्रसम्म नेपालको संस्कृतिको महत्त्वको बारेमा जानकारी दिन सक्ने खालको पाठ्यक्रम निर्माण गर्नु पर्दछ। स्थानीय आवश्यकताको पहिचान गरी त्यही अनुरुपको विषयवस्तुलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्दछ। स्थानीय पाठ्यक्रम सिपमूलक, व्यावहारिक, जीवनपयोगी हुनु पर्दछ। स्थानीय पाठ्यक्रम दिगो हुनु पर्दछ। स्थानीय पाठ्यक्रम शिक्षण सिकाइपश्चात् विद्यार्थीहरूले आफ्नो जीवन सहज रूपमा जिउन सक्ने खालको पाठ्यक्र निर्माण गर्नु पर्दछ। स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि आवश्यक विषयवस्तुलाई छनोट गर्न विषयवस्तुलाई समावेश गर्न तालिमको व्यवस्था गर्नु पर्दछ। स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिनको लागि जनशक्तिको उत्पादन गर्नु पर्दछ। स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्दा बालकेन्द्रित, स्थानीय आवश्यकतामुखी भई पाठ्यक्रममा विषयवस्तु समावेश गर्नु पर्दछ। स्थानीय पाठ्यक्रमले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम् उपयोग हुने र स्थानीय जनताको व्यवसायिक विकास गराउने खालको हुनुपर्दछ। राष्ट्रिय पाठ्क्रमको संरचनाभित्र रही स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि प्राविधिक तथा व्यवस्थापकीय रूपमा स्थानीय तहलाई सक्षम र जिम्मेवार बनाइ पाठ्यक्रम निर्माण गर्दा सहज हुन्छ । स्थानीय पाठ्यक्रमलाई प्रभावकारी तरिकाले निर्माण तथा कार्यान्वयन गराउन सकेमा यसले समाज तथा राष्ट्रको भौगोलिक, साँस्कृतिक विकासमा टेवा पु¥याउँछ। स्थानीय पाठ्यक्रम शिक्षणमा सूचना तथा प्रविधिको सुविधा दिन सकेमा स्थानीय पाठ्यक्रम सिकारूले सहज रूपमा सिक्न सक्दछन्।

सन्दर्भ ग्रन्थसूची

अधिकारी, विष्णुप्रसाद र अन्य (२०७७), शिक्षक परीक्षा दिग्दर्शन आरभूत तह, काठमाडौंः आशिष बुक्स हाउस प्रा.लि. ।
खनाल, पेशल.(२०७३),शैक्षिक अनुसन्धान पद्धति, काठमाडौंः सनलाईट पब्लिकेशन ।
खनाल, पेशल, घिमिरे, जनार्दन र घिमिरे, चोलाकान्त, (२०७७, स्वाध्ययन सामग्री, काठमाडौं ।
विजुक्छे, योगेन्द्रमान र अन्य (२०७५) भक्तपुर नगरपालिका स्थानीय पाठ्यक्रम कक्षा ७,
भक्तपुरः भक्तपुर नगरपालिका ।
नेपाल सरकार (२०७२), नेपालको संविधान, काठमाडौंः कानुन किताब व्यवस्था समिति ।
शर्मा,महाश्रम(२०७३),अनुमतिपत्र परीक्षा सारथि माध्यमिक तह, काठमाडौः भिभिड क्रियसन ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत हुनुहुन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *