कोरोनापछि मानसिक स्वास्थ्य सुधारका लागि करुणा कुँवरका ८ सुझाव


एक वर्षअघि सुरु भएको कोरोना भाइरसको त्रास अहिले सामान्यता धेरैमा कम हुन थालिसकेको छ । तर यसबाट उब्जिएको मानसिक समस्या भने केही समय चलिरहने मनोचिकित्सकहरु बताउँछन् ।

कोरोना कालमा कोही आर्थिक समस्याका कारण, कोही घरायसी मनमुटावका कारण त कसैलाई रोगको त्रासका कारणले पनि मानसिक समस्याको तहसम्म पुर्‍यायो । तर कोरोना भाइरसको खोप बजारमा आइसकेपछि त्यो समस्या समाधान हुनुपर्ने हो । तर, महामारीको बेलामा कमजोर भएको मानसिक अवस्थालाई बलियो बनाउन केही समय लाग्ने मनोविद्हरू बताउँछन् ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रकी वरिष्ठ मनोविद् डा। करुणा कुँवर पहिलेको तुलनामा कोरोनाको खोप आइसकेपछि केही अवस्था सुधार भएपनि खोपप्रति पूर्ण भरोसा नराख्दा अझै यो समस्या समाधान हुन नसकेको बताउँछिन् ।

‘कतिपयलाई खोपले ठीक गर्दैन कि रु भन्ने अन्यौलका कारण पनि पूर्ण रूपमा मानसिक समस्याबाट मुक्त हुन सकेको देखिँदैन’ कुँवर भन्छिन् ‘स्कुल सुरु भइसकेको अवस्थामा पनि स्कुल पठाउने कि नपठाउने भन्ने अन्यौल र अफिस पनि जाने कि नजाने भन्ने दोधारेपनाले पनि धेरै जनामा अझै कोरोनाप्रतिको त्रास नहटेको देखाउँछ ।’

कोरोना कालमा मानसिक रूपमा विक्षिप्त भएकाहरूलाई पुरानै अवस्थामा फर्किनको लागि खानपान, आफ्नो नियमित गतिविधि आदिमा ध्यान दिनुपर्ने उनको सुझाव छ । अहिले पनि अनावश्यक चिन्ता र उदासिपना धेरैमा देखिन्छ । कोभिडको बेलामा घरघरमा भएका कतिपय हिंसाहरु, मिस अण्डरस्ट्याण्डिङहरू अझै समाधान नभइसकेका हुन सक्छन् । यी समस्या समाधान विस्तारै हुँदै जान्छ । तर यसको लागि के–के कुरामा ध्यान दिने त रु डा। कुँवरले दिएको मानसिक समस्याबाट बच्ने केही टिप्सहरू तल उल्लेख गरिएको छ ।

१. दैनिक गतिविधिको निरन्तरता
जतिसुकै चिन्ता र उदासिनता भए पनि आफूले कोरोनाकाल अघि गरेका दैनिक गतिविधिलाई जारी राख्नुहोस् । यसले चिन्ता र उदासिनतालाई बिस्तारै कम गर्दै जान मद्दत गर्छ ।

२.समयप्रति भरोसा राख्नुहोस्
धेरैलाई समयको विश्वास हुँदैन । जुन सुकै कुराको पनि समय आएपछि समस्या समाधान हुन्छ भन्ने भरोसा राख्नुपर्छ । कोरोनाले केही समय त्रासमा राखे पनि खोप आइसकेको छ, यसरी नै समय आएपछि सबै कुराको समाधान हुन्छ भनेर समयलाई विश्वास गर्नुपर्छ । यसैले हामीलाईचिन्ताबाट मुक्त गराउन मद्दत गर्छ ।

३. धैर्य अनिवार्य
मानसिक समस्या भएका व्यक्तिमा धैर्य अनिवार्य शर्त हो । हामी जे कुरामा पनि धैर्यशील हुनुपर्छ । कुनै समस्या परिहाल्यो भने झट्टै आत्तिहाल्ने बानी त्याग्नुपर्छ ।

४. समझदारी र सहकार्य अनिवार्य
कोरोना कालमा धेरैले धेरैसँग वैमनस्यता राखेका उदाहरणहरु पाइन्छन् । आफ्ना छिमेकी, आफन्त लगायतप्रति बढी अविश्वास गरेर हामीले सम्बन्धमा चिसोपना प्रदान गरिसकेका छौं । तर अब त्यो चिसो सम्बन्धलाई पुरानै अवस्थामा लैजानु पर्छ । अब छिमेकी, आफन्त र साथीहरुसँग सहकार्य र समझदारीका साथ अघि बढ्नुपर्छ ।

५. खानपानमा ध्यान दिने
खानपान मानसिक स्वास्थ्यको लागि अति महत्वपूर्ण कुरा हो । के खाने, कतिबेला खाने र कति खाने भन्ने कुरा हामीले ध्यान दिनुपर्ने कुराहरु हुन् । खाना आफूले खाने नियमित समयमा खानुहोस् । सकेसम्म परिवारका सबै सदस्यहरु सँगै बसेर खाना खानुहोस् । जसले गर्दा पारिवारिक मेलमिलापसँगै मनमा अनावश्यक कुरा खेल्न पाउँदैन ।

६. अभ्यास नियमित गर्नु
नियमित अभ्यास गर्नु पनि मानसिक स्वास्थ्यको लागि आवश्यक हुन्छ । बिहान कोरोनाकाल अघि जस्तै गरी आफूले नियमित अभ्यास गर्नाले हाम्रो शारीरिक सँगै मानसिक अवस्थालाई पनि सुधार गर्न यसले मद्दत गर्छ ।

७‍. सोसल मिडियामा एकदमै धेरै कम गर्नुपर्छ
सामाजिक सञ्जाल सबै उमेर समूहको मानसिक समस्याको मुख्य कारण हो । यो समयमा धेरै सामाजिक सञ्जालमा झुण्डिनु मानसिक समस्याको बिउ रोप्नु जस्तै हो । त्यसैले चलाउनै परे केही बेर चलाउने र बन्द गरिहाल्नुपर्छ । जति सक्दो कम सामाजिक सञ्जाल चलाउनु पनि मानसिक समस्या कम गर्ने एउटा उपाय हो ।

८. पर्याप्त सुत्नु
अहिले विद्यालय सुरु भइसकेपछि बच्चाहरुले पनि पर्याप्त सुत्न त पाउँदैनन् । तर बच्चाको लागि यस्तो अवस्थामा १० अनिवार्य सुत्न दिनुपर्छ । वयष्कहरुको लागि पनि ८ घण्टाको निद्रा अनिवार्य हुन्छ ।

यी सबै विधिहरू अपनाएर मानसिक समस्यालाई कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *