सतर्क भएर मात्र यात्रा गरौं


काठमाडौं,  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा आति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार राति ७÷८ बजेबाट आइतबार मध्यान्ह १२÷१ बजेसम्म काठमाडौं उपत्यकाकालगायत देशका विभिन्न भागमा भारी वर्षको पूर्वानुमान गरेको उल्लेख गर्दै मन्त्री घिसिङले सतर्क भएर यात्रा गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमका विषयमा मन्त्री घिसिङले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग जानकारी लिई सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
कर्मचारी तयारी अवस्थामा रहन र उपकरणलाई तयारी अवस्थामा राख्न घिसिङले निर्देशन दिनुभयो । वर्षाले सडक, सिँचाइ र जलविद्युत आयोजनाका संरचना र उपकरणमा ठूलो क्षति पुर्याउने भएकाले गेट सञ्चालनलाई विशेष ध्यान दिन र खोला÷नदी किनारमा रहेका उपकरणहरु सुरक्षित स्थानमा सार्न घिसिङले निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायसँग समन्वय गरी विपद्का सूचनामा एकरुपता कायम गरी तत्काल अद्यावधिक सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बंगालको खाडीबाट भारतको उडिसा, झारखण्ड हुँदै नेपालतर्फ भित्रिएको प्रणालीबाट अहिले वर्षा भइरहेको र सोमबारबाट पूर्वतर्फबाट प्रणाली बाहिरिने बताउनुभयो ।
उहाँले यस वर्षको प्रणाली पोहोरकोजस्तै ढाँचाको रहेकाले यसबाट आउनसक्ने विपद्का बारेमा तयारी अवस्थामा रहनु पर्ने उल्लेख गर्नुभयो । उहाँले सोमबार बिहानसम्म उच्च सर्तकता अपनाउनु पर्ने बताउनुभयो ।
सडक विभागका महानिर्देशक विजय जैसी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बाढी, पहिरो र डुवानबाट आउन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *