काठमाडौं , सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएल ट्रफी उचालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम रोयल्सले १३.३ ओभरमा बिना विकेटको क्षति १५८ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
सुदूरपश्चिमको जितमा स्कटिस ब्याटर जर्ज मन्सेले शानदार प्रदर्शन गरे। उनले ४९ बलमा ८ चौका र ८ छक्काको मद्दतमा शतक पूरा गर्दै एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने। मन्सेको आक्रामक ब्याटिङले लुम्बिनीको बलिङ आक्रमणलाई दबाबमा राखेको थियो।
लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ तथा डार्सी सर्टले २१ रनको योगदान दिए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने थरिन्दु रत्नायके, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान एक विकेट लिए।
यसअघि एनपीएलका पहिलो र दोस्रो संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको हो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक लुम्बिनीलाई नै हराउँदै उपाधि आफ्नो पक्षमा पारेको छ।
यस संस्करणको फाइनल जितसँगै सुदूरपश्चिम रोयल्सले नेपाली क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ।

