छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा, सोमबार सरकारी कार्यालय बन्द रहने


काठमाडौं, सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामार्फत छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

मन्त्रालयका अनुसार यस वर्ष छठ पर्व कात्तिक २९ गते आइतबार परेको छ। छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहिआएको छ।

सोही परम्परालाई ध्यानमा राख्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यससँगै कात्तिक २९ गते आइतबार र ३० गते सोमबार सार्वजनिक बिदा रहनेछ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *