प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउँदै पत्रकार पक्राउको विरोधमा उत्रिए कांग्रेस महामन्त्री पौडेल


काठमाडौं , समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गराउने कार्यप्रति नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आपत्ति जनाएका छन्।

पौडेलले पत्रकारमाथि भइरहेको पक्राउ तथा सञ्चारगृहमा गरिएको हस्तक्षेपले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मर्ममाथि प्रश्न खडा गरेको बताएका छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिको कामकारबाही, न्यायिक प्रक्रिया र राज्यशक्तिको प्रयोगबारे नागरिकलाई जानकारी गराउनु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी भएको उनको धारणा छ। पत्रकारले उठाएका प्रश्न वा प्रकाशित समाचारप्रति कसैको असहमति भए त्यसको समाधानका लागि कानुनी बाटो अपनाउन सकिने उनले बताएका छन्।

कानुनी प्रक्रियालाई बेवास्ता गर्दै प्रहरी शक्तिको प्रयोगबाट पत्रकारलाई त्रसित बनाउने प्रयासले लोकतान्त्रिक मूल्य र विधिको शासन कमजोर पार्ने उनको भनाइ छ।

पौडेलले पक्राउ परेका पत्रकारलाई तत्काल सम्मानपूर्वक रिहा गर्न तथा सञ्चारगृहमा हुने अनावश्यक प्रहरी हस्तक्षेप र निगरानी रोक्न सरकारसँग माग गरेका छन्। विवादित विषय भए त्यसको निष्पक्ष छानबिन कानुनी प्रक्रियाबाटै हुनुपर्नेमा उनले जोड दिएका छन्।

यसअघि पनि पत्रकारहरूलाई गाडी तेर्स्याएर दबाब र त्रास सिर्जना गर्ने प्रयास भएको प्रसंग उल्लेख गर्दै पौडेलले विगतमा देखिएको यस्तो व्यवहार पुनः राज्य संयन्त्रबाट दोहोरिनु गम्भीर विषय भएको बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *