धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न बीमा जागरण, सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेशअन्तर्गतका १६ वटा कार्यालयले प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन गरेका छन्।
कम्पनीका अनुसार वार्षिकोत्सवको अवसर पारेर सुदूरपश्चिमका १६ वटा कार्यालयबाट करिब १०० वटा बीमा जागरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, होटलका कर्मचारी, सहकारी तथा विभिन्न संघसंस्थाका कर्मचारी, महिला तथा आमा समूहका सदस्यहरू र स्थानीय तहका प्रतिनिधिहरूसँग बीमाको आवश्यकता तथा महत्वका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
बीमा जागरण कार्यक्रममार्फत सर्वसाधारणमा जीवन बीमाको आवश्यकता, जोखिम व्यवस्थापन, आर्थिक सुरक्षा तथा भविष्यका लागि वित्तीय योजना निर्माणका विषयमा जानकारी गराइएको कम्पनीले जनाएको छ

वार्षिकोत्सवकै अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक सहयोगका कार्यक्रमसमेत सञ्चालन गरेको छ।
कम्पनीले विद्यालयहरूमा आवश्यक कपडा वितरण गर्नुका साथै स्वास्थ्य चौकीहरूमा Examination Light LED उपलब्ध गराएको जनाएको छ। त्यसैगरी बैतडी जिल्लाका दुई विद्यालयलाई खानेपानीका ट्याङ्की वितरण गरिएको छ।
स्थानीय समुदायको आवश्यकता पहिचान गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
नवौँ वार्षिकोत्सवकै अवसरमा कम्पनीले असोज ६ गते लम्की, धनगढी र महेन्द्रनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
उक्त रक्तदान कार्यक्रमबाट कुल ७१ पोइन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ। कर्मचारी, अभिकर्ता तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न रक्तदान कार्यक्रमले सामाजिक सेवाप्रतिको जिम्मेवारीलाई समेत प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ।
कम्पनीले असोज ६ गते सुदूरपश्चिम प्रदेशका १६ वटा कार्यालयमा अभिकर्ताहरूको सहभागितामा केक काटेर नवौँ वार्षिकोत्सव मनाएको छ।
विभिन्न कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरूले कम्पनीको आगामी यात्रा, बीमा सेवा विस्तार तथा ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्ने विषयमा समेत छलफल गरेका थिए।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल १३६ वटा शाखा कार्यालयमार्फत देशभर बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीले प्रविधिको बढ्दो प्रयोग र ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नवौँ वार्षिकोत्सवको अवसरमा डिजिटल माध्यमबाट बीमा जारी गर्न सकिने दुई नयाँ उत्कृष्ट बीमा उत्पादन समेत सार्वजनिक गरेको छ।
नयाँ डिजिटल उत्पादनले ग्राहकलाई बीमा सेवा लिन थप सहज र प्रविधिमैत्री वातावरण सिर्जना गर्ने कम्पनीको अपेक्षा छ।
कम्पनीले नवौँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई बीमा जागरण, सामाजिक उत्तरदायित्व, रक्तदान र डिजिटल सेवाको विस्तारसँग जोडेर मनाएको जनाएको छ। यसबाट बीमाको पहुँच विस्तारसँगै समाजप्रतिको आफ्नो जिम्मेवारीलाई पनि निरन्तरता दिने कम्पनीको प्रतिबद्धता देखिएको छ।
विभिन्न स्थानमा सञ्चालन गरिएका बीमा जागरण, सामाजिक उत्तरदायित्व तथा रक्तदानलगायतका कार्यक्रमबारे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले जानकारी दिनुभएको हो।

