काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा


काठमाडौं ,कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ ।

सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमान्डुमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमले पछिल्ला दुई खेलमा लगातार कम स्कोर डिफेन्ड गर्दै शानदार जित हात पारेको हो ।

लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिमले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ । अब लुम्बिनी लायन्स वा काठमान्डु गोर्खाज मध्ये एक टिम अन्तिम खेलमा पराजित भएमा सुदूरपश्चिम शीर्ष दुईमा रहने पक्का छ ।

उता लगातार चार खेल जितेपछि पहिलो हार बेहोरेको काठमान्डु ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले लिगको अन्तिम खेलमा पोखरा एभेन्जर्सँग आइतबार खेल्नेछ र उक्त खेल जित्दै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने अवसर अझै कायम छ ।

काठमान्डुका लागि रासिद खानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ३१ बल खेल्दै ५ चौका प्रहार गर्दै । दुसान हेमन्थाले २१ रन जोडे ।

४८ रनमा ५ विकेट अवस्थामा रासिद खान र दुसान हेमन्थाले छैटौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । रासिदले अन्तिमसम्म क्रिजमा रहेरपनि गेम फिनिस गर्न भने सकेनन् ।

ओपनर साम हिजलेट ११, आदिल आलम ८, सन्तोष यादव १० र कप्तान करण केसी ८ रन बनाएर आउट भए । यस खेलमा ओपनिङ गरेका भिम शार्की र सहान अराचिगेले खाता समेत खोल्न सकेनन् ।

१२५ रन डिफेण्ड गर्ने क्रममा सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।

८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले सम्हालेका थिए । दोस्रो ओभरमा क्रिजमा पुगेका दीपेन्द्रले अन्तिम ओभरमा आउट हुनुअघि ५५ बलमा ५ चौका र २ छक्का मदतमा ६० रन जोडे ।

जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

दीपेन्द्रले पाँचौ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफले २५ बल खेल्दै १ चौका मदतमा १६ रन बनाए ।

यस्तै दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनको साझेदारी गरे । थरिन्दुले २३ बल खेल्दै ३ चौका मदतमा अविजित २६ रन बनाए ।

काठमान्डुका लागि बलिङमा जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *