काठमाडौं , हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। सर्वोच्च अदालतले कम्पनीको सीईओ नियुक्ति प्रक्रिया रोक्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नियुक्ति प्रक्रिया अघि बढाउन सहज भएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार मुद्दाको सुनुवाइ गर्दै यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले भदौ ८ गते जारी गरेको उक्त आदेशलाई निरन्तरता नदिने निर्णयसँगै सीईओ नियुक्ति प्रक्रिया रोक्नुपर्ने कानुनी अवरोध हटेको छ।
हिमालयन लाइफका तत्कालीन सीईओ कपिल कुमार दाहालले पदमा पुनर्बहाली गर्न तथा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रोक्न माग गर्दै भदौ ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनको निवेदनपछि अदालतले भदौ ८ गते नियुक्ति प्रक्रिया स्थगित गर्ने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
हिमालयन लाइफमा लगानी रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरको सञ्चालक समितिका अध्यक्ष रहेका दाहाल फौजदारी अभियोगमा पक्राउ परी थुनामा परेपछि जेठ २८ गतेदेखि निलम्बनमा परेका थिए। उनी साउन २२ गते थुनामुक्त भएका थिए। दाहालमाथि हिमालयन इन्भेष्टमेन्ट बैंकरमार्फत हिमालयन लाइफको लगानी दुरुपयोग गरेको आरोप रहेको छ।
हाल हिमालयन लाइफ इन्स्योरेन्समा कवि फुयाँलले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कम्पनीमा नयाँ सीईओ नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन सकिने अवस्था बनेको छ।

