निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति र संशोधित विधान अद्यावधिक


काठमाडौं,निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति तथा संशोधित विधानलाई आधिकारिक अभिलेखमा अद्यावधिक गरेको छ।
आयोगले मंगलबार अद्यावधिक गर्ने निर्णय गरेको जानकारीसहितको पत्र बुधबार नेपाली कांग्रेसलाई पठाएको हो। बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले आयोगको पत्र प्राप्त भएको जानकारी गराएका थिए।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। महाधिवेशनले २० जना पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
नयाँ कार्यसमिति र संशोधित विधान अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले गत कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो। टोलीले महाधिवेशनबाट पारित विधान संशोधन, राजनीतिक तथा समसामयिक दस्तावेज र आवश्यक कागजात आयोगमा बुझाएको थियो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलको पदाधिकारी वा कार्यसमितिमा परिवर्तन भएमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगले कांग्रेसको दल दर्ता अभिलेखमा नयाँ नेतृत्व र संशोधित विधानसम्बन्धी विवरण अद्यावधिक गरेको हो।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आयोगले मान्यता दिएपछि परेको रिटमा सर्वोच्च अदालतले गत वैशाख ४ गते आयोगको निर्णय सदर गर्दै निवेदन खारेज गरेको थियो।
तर देउवा र खड्का पक्षले उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिएका छन्। सर्वोच्च अदालतमा पुनरावलोकनसम्बन्धी प्रक्रिया अझै विचाराधीन छ।
यसैबीच देउवा पक्षले आफूहरू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। उक्त पक्षले विभिन्न जिल्लामा संगठनात्मक गतिविधि तथा अधिवेशन सञ्चालन गर्दै मंसिर २१ देखि २३ गतेसम्म अर्को महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
यस्तो अवस्थामा निर्वाचन आयोगले गगन थापा नेतृत्वको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको निर्णयले आयोगको अभिलेखमा नयाँ नेतृत्वलाई औपचारिक निरन्तरता दिएको छ। यद्यपि, सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन प्रक्रियाको अन्तिम टुंगो लाग्न भने बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *