रूपन्देही,नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र एवं रूपन्देहीका कांग्रेस नेता किरण गौतम नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा अघि बढ्ने चर्चामा रहेका छन्। देउवासँग लामो समयदेखि निकट रहेर राजनीतिक गतिविधिमा सक्रिय गौतमको केन्द्रीय नेतृत्वमा प्रवेशलाई लिएर कांग्रेसको राजनीतिक वृत्तमा चर्चा हुन थालेको उनीनिकट स्रोतले जनाएको छ।
१८ वर्षको उमेरदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका गौतम विद्यार्थी राजनीतिदेखि नै पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका हुन्। शंकरदेव क्याम्पसबाट उच्च शिक्षा सुरु गरेका उनले नेपाल विद्यार्थी संघको इकाई समितिमा रहेर संगठनात्मक काम गरेका थिए। बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा प्रत्यासीसमेत बनेका गौतम विद्यार्थी राजनीतिबाट पार्टीको मूल राजनीतिमा स्थापित हुँदै आएका नेता हुन्।
रूपन्देही तथा अर्घाखाँचीका संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गरेका गौतम नेपाली कांग्रेसका विभिन्न राजनीतिक अभियान, संगठन विस्तार तथा पार्टीका गतिविधिमा निरन्तर सहभागी हुँदै आएका छन्। हाल उनी नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन तयारी समिति रूपन्देहीका सचिवको जिम्मेवारीमा छन्।
राजनीतिसँगै सामाजिक तथा विभिन्न संघसंस्थामा समेत सक्रिय गौतमले बैंक तथा वित्तीय संस्थाहरूमा विगत १७ वर्षदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। सहकारी अभियानमा नेतृत्वदायी भूमिका, वित्तीय लगानीकर्ता तथा लगानी कम्पनीको नेतृत्वमा रहेर उनले आर्थिक तथा संस्थागत क्षेत्रको अनुभवसमेत हासिल गरेका छन्।
राजनीतिक, संगठनात्मक, सामाजिक तथा वित्तीय क्षेत्रको अनुभवलाई आधार बनाउँदै गौतमलाई कांग्रेसको आगामी महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा अघि बढाउनुपर्ने चर्चा उनीनिकट राजनीतिक वृत्तमा भइरहेको छ। पार्टीभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै राष्ट्रिय राजनीतिमा थप जिम्मेवारीका लागि उनी आकांक्षी रहेको स्रोतको भनाइ छ।

