गोपाल हमालको उम्मेदवारीले धनगढीलाई के फरक पर्छ ?


विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिन्न । धनगढीले मलाई यहाँसम्म पुर्‍याएको छ । त्यसैले धनगढीलाई नमूना सहर बनाउने मेरो एउटै लक्ष्य हो । मेरो जित सबैको जित हुनेछ ।’

हमालले आफूले अन्तिम पटकका लागि उम्मेदवारी दिन लागेको पनि बताउनु भएको छ।गत स्थानिय तहको निर्वाचनमा करिब २ हजार ७ सय मतले पराजित गोपाल हमालले यस बर्ष पनि अरु उमेदवारलाई चुनाव जित्न निकै हम्मे हम्मे पार्ने अनुमान गरिएको छ । हमालको समर्थनमा यहाँका स्वतन्त्र व्यक्तिहरू खुलेरै लागेका छन् भने सबैजसो पार्टीमा हमाल समर्थकको राम्रै संख्या छ र उनीहरू गोप्य रूपमा हमाललाई सहयोग गर्ने मनस्थितिमा देखिएका छन् ।

हमालको उम्मेदवारी बारे दलका उम्मेदवार भने अहिले खुलेरै बोल्न चाहादैनन्, कांग्रेसबाट बलियो उम्मेदवारका रुपमा देखिनुभएका वर्तमान मेयर नृपबहादुर वड हमालको उम्मेदवारीले त्यस्तो गाह्रो नपार्ने बताउनुहुन्छ। मेयर नृपबहादुर वड  भन्नुहुन्छ, “निर्वाचन लड्ने सबैलाई अधिकार छ।  तर दल र स्वतन्त्र उमेदवारमा धेरै फरक हुन्छ। राजनीति गरेकैले हो देश बनाउने। केही कमजोरी होलान ति सच्याएर हामी अघि बढ्छौँ ।”

तर वर्तमान मेयर वडले निर्वाचन पुन: लड्ने मनशाय बनाइरहँदा यहाँका स्थानिय वडको ५ बर्षे कार्यकालमा देखिन लायक काम नभएको बताइरहेका छन् । “५ बर्षमा न सबै नाली बने ल सडक न फुटपाथ नै,” धनगढीका प्रमोद पाठकले भन्नुहुन्छ, “संघीय सरकारले बनाएको ६ लेन सडक छेउमा फुटपाथ बनाउन सकेको छैन, संघीय आयोजना अन्तर्गतका फोहोरमैला प्रशोधन केन्द्र बनाउन सकेन, सडकको चौडाई घटाएर निर्माण हुन थालेको छ। उपमहानगरले आफ्नो काम देखाउनुको सट्टा संघका योजनालाई समेत की अधुरै राखेको छ की क्षेत्रनै घटाएको छ, यस कारण धनगढीको नेतृत्व परिवर्तन आवश्यक छ ।”

धनगढीकै श्याम जोशी पनि उपमहानगरमा जनप्रतिनिधिले ५ बर्षसम्म कुनै काम गर्न नसकेको बताउनुहुन्छ। श्याम जोशी भन्नुहुन्छ, “पाँच बर्षमा यहाँका छाडा चौपायालाइ त व्यवस्थापन गर्न सकेनन्। बाहिर गफ जति हानेपनि काम केही देखिएको छैन।”

धनगढीका मदन भट्ट भन्नुहुन्छ, “५ बर्षमा धनगढी जस्ताको त्यस्तै छ। त्यस कारण विकास गर्ने नेता नजिताउँदासम्म धनगढी बन्दैन।धनगढी नबने सुदूरपश्चिमपनि बन्दैन ।”

गोपाल हमालले उम्मेदवारीले यस्ता मतदातालाई सरक्क तान्ने हो की भन्ने डर यहाँका सबैजसो पार्टीमा छ। मेयर नृपबहादुर वडमा केही आत्मविश्वासचाहिँ छ। मेयर नृपबहादुर वड भन्नुहुन्छ, “मेरो कार्यकाल संघर्षमय रहयो। १९ वर्षपछि स्थानीय सरकार आएको अवधि हो । कानून निर्माणसँगै सबै वडाहरूमा भौतिक संरचनादेखि अन्य विकास निर्माणको जिम्मेवारी रहेको कार्यकाल हो । महामारीका बीच कार्यकाल बित्दैछ । विकास निर्माण धमाधम भइरहेका छन् । केही सम्पन्न भएका छन्, केही भर्खर शुरू भई सञ्चालनका अवस्थामा छन् । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हुनेछ ।”

नृपबहादुर वडले कांग्रेसभीत्रै पनि प्रतिस्पर्धा गर्नपर्ने स्थीति छ। उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट तीन जनाको नाम चर्चामा छ । मेयर नृपबहादुर वडसँगै उपमेयर सुशिला मिश्र भट्ट र नेता कृष्णबहादुर महरा आकांक्षी देखिनु भएकोछ। तीनै जना संस्थापन पक्षका हुनुहुन्छ। अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन् ।

२०७४ को निर्वाचनमा नै टिकट पाउने निकै चर्चामा रहेका व्यवसायी तथा काँग्रेस नेता कृष्णबहादुर महरासँग नै वडको ठूलै प्रतिस्पर्धा हुनेछ। धनगढीकी उपमेयर सुशिला मिश्र भट्ट अब उपमेयर नहुने मनस्थितिमा हुनुहुन्छ। सुशिलाले मेयर र प्रदेशसभाको टिकटमध्ये एउटा पाउनु पर्ने मागका साथ लविङ सुरु गर्नुभएको छ।

यस्तै एमालेबाट वर्तमान कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी, निवर्तमान उपाध्यक्ष तथा अध्यक्षमा पराजित रणबहादुर चन्द पनि धनगढीको मेयरमा उठने चाहनामा देखिनु भएको छ। उपाध्यक्ष जोशी २०७४ सालको स्थानिय निर्वाचनमा पराजित हुनुभएको हो। त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष समेत हुनुभएका जोशी एक पटक धनगढीको मेयर बन्ने जोडबलमा हुनुहुन्छ।

एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गर्नुभएका रणबहादुर चन्द यहाँका कार्यकर्ता तथा आम जनतामा लोकप्रिय र ईमान्दार नेताका रुपमा चिनिनुहुन्छ। सधै अवसरबाट बञ्चित बनाइने चन्दलाई यस पटक टिकट मिल्न सक्ने अनुमान गरिएको छ ।

माओवादीबाट शान्ति अधिकारी र बल बहादूर ऐरले मेयर लड्ने आकांक्षा देखाउनु भएको छ। अधिकारी गत २०७४ सालको स्थानिय निर्वाचनमा उप मेयर पदमा पराजित हुनुहुन्छ भने ऐर धनगढी उप महानगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

टिकटका लागि दुवै पार्टीमा लविङ गरिरहेका छन् । शान्ति अधिकारी भन्नुहुन्छ, ‘पार्टीले आवश्यक ठानेको अवस्थामा मेरो तयारी स्वाभाविक रूपमै रहन्छ । हामी विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ उपमहानगरको विकासका लागि मेरो तयारी रहन्छ । हामी पनि केही गर्न सक्छौं भन्ने लाग्छ । तर अझै टुंगो लाग्न बाँकी नै छ ।”

नेकपा एकिकृत समाजवादी पार्टीबाट राजेश भण्डारी मेयरको उम्मेदवार बन्ने चर्चा छ। राजेश भण्डारी मेयरको टिकट पाउनकै लागि एकिकृत समाजवादीमा गएको बुझिएको छ । राजेश भण्डारी भन्नुहुन्छ, ‘अहिलेसम्म राजनीतिक दलको सत्ता गठबन्धन कायमै रहेको छ । यसले निरन्तरता पनि पाउँछ । राजनीतिक दलबाट आकांक्षी देखिनु राम्रो कुरा हो । तर गठबन्धनले निर्णय गरेपछि आधिकारिक होला, एकीकृत समाजवादीबाट मलाई सार्ने कुरा हुँदैछ।’ श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *