नेपाल लाइफले आन्दोलित अभिकर्तासँग वार्ता गर्न मानेन, सोमबार सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालकले आन्दोलित अभिकर्ताहरुसँग वार्ता गर्न नमाने पछि उनिहरुले सोमबारदेखि सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने भएका छन् । ताला लगाउनु अगाडी आइतबार एक पटक वार्ताका लागि आह्वान गर्ने छन् । यदि आइतबार पनि कम्पनीले केन्द्रिय संघर्ष समितिसँग वार्ता गर्न मानेन भने पत्रकार सम्मेलन नै गरेर ताला लगाउने संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए ।

गत बुधबार अभिकर्ता केन्द्रिय संघर्ष समितिले कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरु सँग छलफल गरेको थियो । समितिले राखेका मागहरुको विषयमा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले तत्काल पुरा गर्न नसक्ने भए पछि उनिहरुले सञ्चालकहरु सँग छलफल गरेर आज शुक्रवार पुनः छलफल गर्ने सहमति गरेका थिए । तर उनिहरुले संघर्ष समितिलाई वेवास्था गर्दै विभिन्न बहाना बनाएर वार्तामा नआएको अधिकारीले जानकारी दिए ।

कम्पनीका उच्च व्यवस्थापनले विभिन्न बहाना देखाएकोले माघ दुई गते आइतबार एक दिन वार्ताका लागि अन्तिम समय दिइने संघर्ष समितिको भनाइ छ । यदि कम्पनीले आजको जस्तै गरि अभिकर्ताहरुलाई वेवास्था गरियो भने पत्रकार सम्मेलन नै गरेर ताला लगाउने उनले बताए ।

संघर्ष समितिका पदाधिकारीहरु वार्ताका लागि नेपाल लाइफको केन्द्रिय कार्यालयमा रहदा रहदै पनि कम्पनीले आन्दोलन विथोल्न खोजेको उनिहरुको आरोप छ । कम्पनीको यस्तो रवैयाले बीमित तथा अभिकर्तालाई नै ठुलो नोक्सान पुगेको उनिहरुको भनाइ छ ।

संघर्ष समितिका पदाधिकारीहरुले आइतबार विहान १० बजे केन्द्रिय कार्यालयमा उपस्थित हुन आह्वान गरेका छन् । उनिहरु सकेसम्म आइतबार आन्दोलित अभिकर्ताको माग होस भन्ने अपेक्षामा छन् । यदि माग पुरा भयो भने तत्काल आन्दोलनका कार्यक्रम रोकेर व्यवसायमा जुट्ने उनिहरुको प्रतिवद्धता छ ।

नेपाल लाइफका अभिकर्ताहरु विगत लामो समयदेखि आन्दोलनमा छन् । कम्पनीले अभिकर्ताको टार्गेट बढाएदेखिनै उनिहरुले विरोध गर्दै आइरहेका थिए । एकातिर टार्गेट बढाउने अर्को तर्फ हिजोका दिनमा चलेका पोलिसी बन्द गराएर नयाँ पोलिसी जारी गर्दा अभिकर्ताहरुलाई गाह्रो परेको उनिहरुको भनाइ छ ।

अभिकर्ताहरुले पुस १७ गतेदेखि नयाँ पोलिसी बिक्री गर्न दिएका छैनन् । उनिहरुले नयाँ पोलिसी जारी गर्ने जुन सुकै शाखा प्रमुखलाई कारोबार गर्ने भन्दै धम्की समेत दिएका छन् । यसै क्रममा कम्पनीले आफ्नै कर्मचारी तथा अभिकर्ताले पोलिसी बिक्री भएको नदेखिने बनाएको छ । पुस १७ गते भन्दा अगाडी नै संघर्ष समितिले चरणबद्ध रुपमा कम्पनीलाई दवाव दिदै आएको थियो । तर कम्पनीले उनिहरुको मागलाई अलिकति पनि संबोधन नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् ।

कम्पनी अभिकर्ताको कमिशन घटाएर खर्च कटौती गर्ने रणनीतिमा छ । तर अभिकर्ताहरुले खाइपाइ आएको सेवा सुविधा घटाए पछि आन्दोलन गरेका हुन् । कम्पनी उच्च व्यवस्थापन अभिकर्ताको सञ्जाल नभए पनि हुन्छ भन्ने पक्षमा छ । अर्को तर्फ केहि अभिकर्ताहरुले कम्पनीका उच्च व्यवस्थापनलाई साथ दिदै आएका छन् । यसै क्रममा संघर्षमा रहेका अभिकर्ताको आन्दोलन सुनुवाइ हुन सकेको छैन ।

संघर्षमा रहेका अभिकर्ताका कारण पुस महिनामै नेपाल लाइफको बीमा शुल्कमा ठुलो प्रभावपर्नेवाला छ । पुस महिनामा कम्पनीको प्रस्तुति कमजोर देखिने भएकाले कम्पनीका उच्च व्यवस्थापनले अभिकर्ताहरुलाई १५ दिनका लागि आन्दोलन रोक्न अनुरोध पनि गरेका थिए । तर उनिहरुले माग पुरा नभएसम्म आन्दोलनबाट पछाडी नहट्ने चेतावनी दिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *