नेकपा केन्द्रीय कमिटी बैठक सर्ने सम्भावना


काठमाडौँ । सत्तारुढ नेकपा केन्द्रीय कमिटी बैठक सर्न सक्ने देखिएको छ। कोरोना महामारीसँगै आगामी महाधिवेशनको कार्ययोजना तयार समेत नभएकाले बैठक सर्न सक्ने बताएइको छ।

काठमाडौ उपत्यका दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेकाले बैठक बस्न समस्या देखिएको कतिपय सदस्यले नै बताएका छन्।

कुल ४ सय ४७ जना केन्द्रीय कमिटी सदस्य सहित सम्पूर्ण नेता कार्यकर्तालाई व्यवस्थापन गर्न कठिन हुन सक्ने पार्टी केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले बताए। तर, बैठक स्थगित गर्ने वा चलाउने भन्ने विषयमा कुनै सूचना नआएको रिजालले बताए।

केन्द्रीय कमिटी बैठक बस्ने जम्मा चार दिन मात्रै भए पनि केन्द्रीय सदस्यलाई कुनै सूचना दिएको छैन। केन्द्रीय सदस्य पनि बैठक हुनेमा ढुक्क देखिएका छैनन्।

पार्टी महासचिव एवम अर्थ मन्त्री विष्णु पौडेलले केन्द्रीय कमिटी बैठकका सम्बन्धमा छलफल गर्न थालेको बताए। ‘हामीले कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेका थियौं’, पौडेलले भने, ‘बैठक बस्ने वा नबस्ने भन्ने सम्बन्धमा दुई अध्यक्षसँग परामर्श छु। त्यसपछि बैठकका विषयमा भन्नेछु।’

यसअघि बसेको स्थायी कमिटी बैठकले कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो। बैठकले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्नेगरी योजना बनाएको थियो। असोजभित्र पार्टी एकताका बाँकी सबै काम सम्पन्न गरी सबै ध्यान महाधिवेशनमा केन्द्रित गरिने भनिएको थियो। तर, पार्टी एकताका काम विगत २ वर्ष ५ महिना पुग्दा समेत अझै पूर्णता पाएको छैन। एकताका सबै काम पूरा नगरी पार्टीलाई महाधिवेशनमा कसरी केन्द्रित गर्न सकिन्छ भन्दै नेताहरुले प्रश्न उठाउन छन्।

यस्तै, असोज महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने भनिएको थियो। अहिलेसम्म सदस्यता नवीरणको कामले समेत कुनै गति लिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *