किन उत्रे नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा


काठमाडौं । नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ । युनियनले पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरुलेक कालो पट्टी बाधेर विरोध जनाएका थिए । उनिहरुले कम्पनीबाट खोसिएको अधिकार तथा जायज मागहरुका लागि विरोध प्रदर्शन गरेका थिए । युनियनका पदाधिकारीहरुले हरेक दिन एक घण्टा प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम अनुरुप आज पनि विरोध प्रदर्शन गरेका छन् ।

युनियनले आज पनि पहिलो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागिय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई पहिलो एक घण्टा कार्यकक्ष प्रवेशमै रोक लगाएका छन् । आजै उपत्यकाभित्रका सम्पुर्ण शाखा प्रमुखहरु सहित प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना दिएका छन् ।

युनियनले भोलि पुस ५ गते पहिलो र दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागीय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई दिउँसो एक बजेसम्मका लागि कार्यकक्ष प्रवेशमा रोक लगाउने कार्यक्रम तय गरेका छन् । यसका साथै उपत्यकाका सम्पुर्ण शाखा प्रमुख सहितको प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् ।

युनियनले तय गरेका संघर्षका कार्यक्रमलाई कम्पनीले संबोधन नगरेमा अझै सशक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने भएको छ । आन्दोलनका कार्यक्रमका क्रममा हुन सक्ने क्षति र कार्यसम्पादनमा आउन सक्ने असहजताको जस अपजसको भागिदार र सोको जवाफदेहिता स्वयं कम्पनी व्यवस्थापन हुने युनियनले जनाएको छ । आन्दोलनको संयोजक युनियनकै अध्यक्ष बसन्तराज कार्की छन् ।

युनियनले गत असर १३ गते नै कम्पनीको कर्मचारी सेवा शर्त विनियमावलीमा भएका व्यवस्था हाल कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधालाई नघटाउन मागपत्र पेश गरेको थियो । यसका साथै अन्य कम्पनीबाट माथिल्लो तहमा कुनै पनि कर्मचारी नियुक्त नगर्ने सहमति भएको थियो तर यि माग पुरा नभए पनि युनियनले साउन २५ गते ध्यानाकर्षण गराएको थियो ।

कम्पनीले कर्मचारीका मागलाई वेवास्था गर्दै गए पछि युनियनले कार्तिक १८ गते व्यवस्थापन र युनियनका पदाधिकारीहरु विचमा वार्ता तथा छलफल भएको थियो । यसरी भेटेरै लिखित तथा मौखिक रुपमा कर्मचारी सेवा सर्तका विषयमा भएका छलफल तथा सहमति कार्यान्वयनका लागि मंसिर २९ गतेसम्म समय अवधि दिएको थियो । तर माग पुरा नभए पछि हिजो पुस ३ गतेदेखि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । हिजो पहिलो दिन प्रमुख कार्यकारी अधिकृत बाहेक सम्पुर्ण कर्मचारी आन्दोलनमा थिए । आजको आन्दोलनको कार्यक्रममा भने मानव संशाधन विभाग प्रमुख बन्दना शर्मा सहभागी थिइनन् ।

कर्मचारी युनियनले राखेका मागहरुका विषयमा कम्पनीले निर्णय नै नगरिसकेको हुँदा अहिले नै आन्दोलन गर्नुको कुनै अर्थ नरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले जानकारी दिए । उनले भने ‘कतिपय साथिहरुको मागहरु जायज होलान् । तर उहाँहरुले उठाउनु भएको विषयमा कम्पनीको सञ्चालक समितिबाट निर्णय नै भइसकेको छैन । अझै छलफलकै विषयमा छ ।’

कर्मचारीहरुको सेवा सुविधा कटौती हुन थालेको हो भन्ने जिज्ञासामा पराजुलीले भने ‘हामीले नियम कानुन अनुसार दिने सेवा सुविधा दिन्न भन्न पाइदैन । कानुनले नहुने कुराहरु हामी पनि गर्दैनौ । हामीले यति मात्रै भनेका हौ श्रम ऐन अनुसार सबैले दिनको ८ घण्टा काम गर्नु पर्छ । अझ अहिलेको जस्तो चुनौतिपुर्ण अवस्थामा ८ घण्टा काम गर्दैनौ भन्ने मागलाई संस्थाले कसरी मान्न सक्छ र ?’

हाल नेपाल लाइफका कर्मचारीहरुले वार्षिक ४५ दिन विदा पाउने व्यवस्था छ । जसमा ३० दिन घर विदा र १५ दिन फोर्स लिभ पाउछन् । कम्पनीले अन्य विदाहरु लिदा यहि अन्तर्गत लिन लगाउने व्यवस्था गरेको छ । कर्मचारीहरुले पुराना जे जस्ता व्यवस्था छन् ति सबै कायम हुनु पर्ने माग गरेका छन् । तर कम्पनीले कर्मचारीको कार्यक्षमता तथा कामको मूल्याङ्कन गर्दै बढुवा गर्ने लगायतका व्यवस्था गरेको कम्पनीको भनाइ छ । कम्पनीले शैद्धान्तिक आधारलाई टेकेर मात्रै काम गरिएको हुँदा हिजोका दिनमा भएका वेथिति हटाउने र राम्रो काम गर्नेलाई राम्रो सेवा सुविधा दिने कम्पनीको योजना छ । तर यहि सन्दर्भमा पुराना कर्मचारीहरु भने पुरानै व्यवस्थालाई कायम गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । हाल कर्मचारीहरुले कम्पनी समक्ष १५ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *