ओली र नेपालसमूह अन्ततः छुट्टिने निष्कर्ष


काठमाडौँ । अदालतले पार्टी ब्युँताइदिएपछि पनि एक हुन नसकेका नेकपा एमालेका ओली र नेपालसमूह अन्ततः छुट्टिने निष्कर्षमा पुगेका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सोमबार निष्काशन गरेपछि माधव समूह ओलीसँग रुष्ट बनेका छन्।

केही दिन अघि ओलीले वरिष्ठ नेता नेपाल, रावल, नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई लिखित स्पष्टीकरण मागेका थिए। गत बिहीवार स्पष्टीकरण बुझाएका नेता नेपाल र रावलले उल्टो केपी ओलीले पार्टी हित विपरित काम गरेकाले केपी ओलीलाई किन कारबाही नगर्ने भन्दै प्रतिस्पष्टीकरण पठाएपछि सोमबार ओलीले वरिष्ठ नेता नेपाल र रावललाई पार्टीबाटै निष्काशित गरेको पत्र पठाएका थिए।

ओली उक्त निर्णय पछि मंगलबार बसेको नेपाल समूहको बैठकले ओलीले गरेको कारबाही नमान्ने र तत्काल पार्टी पनि नफुटाउने निर्णय गरे। मंगलबारको बैठकले ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाह लाद्न खोजेको निष्कर्ष निकाल्यो। नेपाल समूहको ११ जना स्थायी कमिटी सदस्यहरुको बैठकले बरु ओलीले पार्टीको विधान विपरित अघि बढेको र पार्टीलाई छिन्नभिन्न बनाउने काम गरेको उनीहरुको ठहर छ ।

मंगलबारको बैठकले ओली विरुद्ध एकजुट हुन आफ्ना नेता कार्यकर्तालाई समेत आग्रह गरेको छ । अहिले एमालेभित्र दुबै समूहले समानान्तर सांगठानिक र वैचारिक गतिविधि गर्दै आइरहेका छन्। तर औपचारिक रुपमा पार्टी विभाजनको घोषणा नगरेको दुबै समूहले आ–आफ्नो कित्ता भने क्लियर गरिसकेका छन्। पार्टीको भातृसंगठनदेखि तल्लो स्तरसम्म कमिटी विस्तार गर्न थालेका छन्। उता ओलीले पनि प्रदेश कमिटीको विस्तारदेखि त्यसको नेतृत्व चयन समेत गरेर अब माधव समूहसंग मिल्न नसक्ने निष्कर्ष सहित अघि बढीसकेका छन्। यसले अब एमालेको दुइ समूह ओली र नेपाल समूह एउटै पार्टीमा रहन नसक्ने दुबै पक्षले निष्कर्ष समेत निकालीसकेका छन्। आज मात्रै नेपाल समूहका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रश्न सहितको स्पष्टीकरण बुझाएका छन्।

नेता भुसालले बुझाएको स्पष्टीकरण पत्रमा आफूमाथि सोधिएको प्रश्न भन्दा पनि लगाएको आरोप कति झुटो र पूर्वग्राही थियो भन्ने कुराको जवाफ फर्काइएको उल्लेख गर्नुभएको छ।उनले आफूमाथि लगाइएको आरोप बनावटी झुटको पुलन्दा मात्रै भएको दावी गरेका छन्।

पार्टीको उपमहासचिव समेत रहेका भुसालले केपी ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरुको भेला राखेर एमाले पार्टी फुटाउन रेखा कोरेको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी हेरफेर, २३ जना केन्द्रीय सदस्य मनोनयन र संविधान संशोधन जस्ता निर्णय गरेर अध्यक्ष ओलीले नै पार्टी विधानको उल्लंघन गरेको र ‘त्यहीबाट पार्टीमा विभाजनको रेखा कोरिएको उनले पत्रमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *