निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर


वीरेन्द्रनगर । यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सङ्क्रमणको दर बढ्दै गएका कारण चार दिन निषेधाज्ञा थप गरिएको छ ।

प्रशासनले अत्यावश्यकीय क्षेत्रहरु मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो । हिन्दू महिलाको चाड हरितालिका तीज पनि यही बेला भएकाले बढी भीडभाड हुनसक्ने र कोरोनाको जोखिम थप हुने भएकाले निषेधाज्ञा लगाउन आवश्यक ठानिएको हो । त्यसयता पनि सङ्क्रमण बढ्नसक्ने भएकाले अरु चार दिन थप गरिएको हो ।

निषेधाज्ञाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायतको टोली वीरेन्द्रनगरका विभिन्न स्थानमा खटिएको थियो । सहायक प्रजिअ पौडेलले निषेधाज्ञालाई जनस्तरबाट पूर्णरूपमा सहयोग भएको बताउनुभयो । सामान्य केही छिटफुट मानिस हिँडिरहे पनि उहाँहरुलाई सम्झाइबुझाई गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *