रास्वपा परित्याग गरेका नेताहरूले गरे देश बुझेका पुराना व्यक्तिलाई मत दिन अाग्रह


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले चटकदार अनुहार र भावनात्मक नाराभन्दा नीति, अनुभव र देशबोधका आधारमा निर्णय लिन अपिल गरे।

रास्वपाबाट  अलग भएका बागमती प्रदेशका पूर्व उपसभापति दिनेश हुमागाईंले अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्नुपर्नेमा जोड दिए। उनले रास्वपा आफ्नो मूल सिद्धान्त र नीतिबाट विचलित भएको आरोप लगाउँदै अधिवेशन समयमै नगरेको, उम्मेदवार छनोट प्रक्रिया पारदर्शी नभएको र नेतृत्वमा जवाफदेहिता कमजोर रहेको दाबी गरे। देश स्थिर सरकार र स्पष्ट नीतिगत दिशातर्फ जानुपर्ने भन्दै उनले मतदातालाई भावनात्मक प्रचारभन्दा परिपक्व निर्णय गर्न आग्रह गरे।

त्यस्तै, पार्टीबाट अलग भएका प्रणय शमशेर राणाले संगठनभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाइएको आरोप लगाए। उम्मेदवारी चयन प्रक्रिया प्राइमरीमार्फत हुने भनिए पनि व्यवहारमा लागू नभएको र सदस्यहरूलाई बेवास्ता गरिएको उनको भनाइ थियो। पार्टी स्थापनाकालीन नारा ‘थितिको थालनी र वेथितिको अन्त्य’ व्यवहारमा उल्टिएको उनले टिप्पणी गरे।

रास्वपाकी मधेस प्रदेशकी संस्थापक सभापति रहिसकेकी ममता शर्माले पनि पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन्। बाहिर पारदर्शिता र नयाँ राजनीतिक संस्कारको कुरा गरिए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको भन्दै उनले जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको आरोप लगाइन्।

रास्वपा त्यागेका नेतामध्ये प्रणय र ममता नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् भने हुमागाईं हालसम्म कुनै दलमा आबद्ध भएका छैनन्। उनीहरूले मतदातालाई सामाजिक सञ्जालको प्रभावभन्दा माथि उठेर देशको दीर्घकालीन हितका लागि अनुभवी र जिम्मेवार नेतृत्व चयन गर्न आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *