सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका


शंकर सिंह धामी ,दार्चुला                                          दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ उपदफा १ (च) बमोजिमको कसुरमा जन्मकैदको माग दावीसहित मुद्दा चलाइएको छ । सशस्त्र प्रहरीको विशेष अदालत गठन भई सुनुवाईको कार्य पनि भइरहेको छ । स्थानीय पत्रकारमार्फत सशस्त्र प्रहरीको गणभित्रको जानकारी मिडियाबाट आउदाको प्रत्यक्ष असर वर्तमानमा वरिष्ठ हवल्दार साहुलाई देखिएको छ ।

के हवल्दारले गल्ती गरे ?

सशस्त्र प्रहरीको विशेष अदालतमा गम्भीर प्रकृतिको अपराध गरेको अभियोगमा वरिष्ठ हवल्दारविरुद्ध मुद्दा चलाइएको छ । जन्मकैदको माग दावीसहितको मुद्दा चलाइनु सामान्य विषय हुदैहोइन । सामान्य गाउँले जीवन चलाउनका लागि सशस्त्र प्रहरीमा जागिर खाइरहेको एक सोझो व्यक्तिमाथि अहिले सशस्त्र प्रहरीको सिंगो संगठन क्रुर बनेको देखिन्छ ।
के कति कारणले वा कुन स्वार्थले ती वरिष्ठ हवल्दारले गणभित्रको सुरक्षाकर्मी आउट छोड्ने गरेको अवस्थालाई मिडियामा ल्याउन खोजे ? यसबारे थप कौतुहलता पनि जागेको छ । ती हवल्दारको स्वार्थ वा कारण नखुले पनि उनले सार्वजनिक गराएको तथ्य वास्तविक छ । यो तथ्य ठिक हो, वास्तविक हो भन्ने पुष्टि गणभित्रबाटै मुद्दाका लागि तयार गरिएका कागजपत्रले नै पुष्टि गरेका छन् ।
सशस्त्रका वरिष्ठ हवल्दारले तथ्यगत जानकारी सार्वजनिक चाँसो र जानकारीका लागि मिडियामा दिएका हुन् भने यो उनको गल्ती होइन । एउटा सामान्य परिवारको मान्छे, जीवन निर्वाहका लागि जागिर खाइरहेको व्यक्तिले गणभित्र वा संगठनभित्रको राशन रोगको भण्डाफोर गर्नलाई वा यसमा सुधार गर्नका लागि यो हिम्मत गरेको हो, यस्तो आँट गरेको हो भन्नेमा पनि सन्देह हुनसक्छ । तर, तथ्यगत जानकारी मिडियामा पुगाउनु भनेको जन्मकैदको सजाय पाउने अपराध होइन । यो अपराध नै होइन, यसलाई इमान्दारिताको रुपमा बुझ्न सकिन्छ । भलै, तिनको नियत र उद्देश्यमा केही तलमाथि पनि हुनसक्ला ।
वरिष्ठ हवल्दारको यो कार्यले सशस्त्र प्रहरीको सिंगो संगठनको बदानामी भएको पनि मान्न सकिएला । तर, यो प्रकरणभित्रको तथ्यमा वास्तविकता छ । सिंगो संगठनभित्र धेरै राम्रा सुरक्षाकर्मी र अधिकारी पनि होलान् तर संगठनभित्रको रोगको रुपमा पनि यसलाई बुझ्नुपर्छ ।

दार्चुलाको मात्रै होइन, देशभरीकै रोग हो

देशभर सशस्त्र प्रहरीका दर्जनौ कार्यालय, व्यारेक र फौजी संरचना छन् । यो संख्या सयौं हुनसक्छ । विगतमा पनि सशस्त्र प्रहरीभित्र राशन घोटालाको विषय चर्चामा नआएको होइन । केही वर्षअघि मध्यपश्चिम क्षेत्रका व्यारेकमा सशस्त्र प्रहरीहरुको समूहले अप्रत्यासित आवाज मात्रै उठाएन, जबर्जस्त विद्रोह पनि गरेको थियो । बेलामौकामा यो विषयले चर्चा र स्थान पनि पाइराख्छ । सामान्यतया व्यारेकभित्रको ठूलो जनशक्तिलाई अवैधानिक रुपमा विदा (आउट) छोडेर उनीहरुको राशनवाफतको रकम खाने गरिन्छ भन्ने बुझाइ आम बनिसकेको अवस्था छ । यो सशस्त्र प्रहरीभित्रको अभ्यास मात्रै होइन, सेना र नेपाल प्रहरीको संगठनभित्रको रोग पनि हो । हाम्रै गाउँघर र वरपरको परिवेशमा पनि सेना, सशस्त्र प्रहरीमा जागिर खाने तर महिनौंसम्म घरविदामा बसिरहेका दाजुभाइहरु देख्न पाइन्छन् । तुलनात्मक रुपमा नेपाल प्रहरीमा यो प्रवृति कम रहेको आमबुझाइ छ ।
जनशक्तिलाई आउट छोडेर उनीहरुको राशन बाँडीचुँडी खाने रोग भित्रभित्रै सबैतिर सल्किएको आम बुझाइ छ । यो विषयमा जिम्मेवार निकाय र अधिकारीहरु पनि अनविज्ञ अवश्य छैनन् होला । बरु, उनीहरुसम्म पनि केही न केही हिस्सा पुग्ने भएकोले यस विषयमा कुनै चाँसो दिइदैन । आँखा चिम्लिने प्रवृति रहदैआएको छ । सुरक्षा निकायभित्रका ठूला अधिकारीहरुमात्रै होइन नीतिगत तहमा रहेको निजामति र राजनीतिक नेतृत्वसम्म पनि यो राशनपानीको रस पुगिरहेको आम बुझाइ छ । यसैकारण सुरक्षा निकायमा यो रोग बाँडीचुँडी खाने सिस्टमका रुपमा चलिरहेको जस्तो छ ।
नागरिकको सुरक्षा गर्ने, कानुन कार्यान्वयन गराउने तथा राज्यको मेरुदण्डको रुपमा रहेको सुरक्षा निकायमा सुरक्षाकर्मीहरुको उपस्थिति २४ घण्टा चाहिन्छ । त्यसैकारण राज्यले उनीहरुलाई राशन दिएको हुन्छ, पोशाक दिएको हुन्छ, अन्यको भन्दा अधिकार र सुविधा बढी दिएको हुन्छ । तर कागजपत्रमा नियमित उपस्थिति देखाएर विदा छोड्ने प्रवृति कति झाँगिएको छ भन्ने विषय सुरक्षा निकायमा कार्यरत जवानदेखि चिफसम्मलाई सबैभन्दा बढी थाहा हुन्छ । किनकी उनीहरु भुक्तभोगी पनि हुन्छन् ।सुरक्षा निकायहरुभित्रको आउट छोड्ने र राशन प्रकरणलाई कोहीकसैले जिम्मेवारीबोधका साथ, गम्भीरताका साथ आत्मसात गर्छ भने अब यो देशभरीका व्यारेक र फौजी संरचनामा छानविन गर्नुपर्ने हुन्छ । छानविनले मात्रै पुग्दैन, यस्तो प्रवृति निर्मुल पार्नेगरी सुधार गर्न सक्नुपर्छ । तर, वर्तमानमा फौजी नेतृत्व, निजामति नेतृत्व र राजनीतिक नेतृत्व यी तिनवटैले यस पाटोलाई प्राथमिकता दिनेवाला छैनन् । किनकी उनीहरुको पनि स्वार्थ हुन्छ । थप यसबीचमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुनेवाला छ । यसकारण दार्चुलाको यो घटनाले देशभरीमा सुरक्षा निकायभित्रको आउट छोड्ने र राशनभत्ता खाने रोगको उपचार हुनेमा आश राख्ने ठाउँ छैन ।

दायित्वबाट चुकेका पत्रकार                                        दार्चुलाको घटनामा गणभित्रको तथ्यगत जानकारी प्राप्त गर्ने पत्रकार आफ्नो दायित्वबाट नराम्रोसंग चुकेका छन् । ती पत्रकार जिल्लाको एउटा सञ्चारमाध्यम आवद्ध थिए तर त्यो समाचार धनगढीको अर्को सञ्चारमाध्यमबाट सार्वजनिक भयो । पत्रकारले आफु आवद्ध मिडियामा मात्रै रिपोर्टिङ गर्ने दायित्व हुन्छ । तर, दार्चुला जिल्लामै आधा दर्जन मिडियासम्म सशस्त्र प्रहरीको गणभित्रको यो तथ्यगत जानकारी बाँडिएको तथ्य खुलेको छ ।

आवद्धता जिल्लाको एउटा मिडिया (रेडियो)मा हुने, समाचार धनगढीको मिडिया (अनलाइन)बाट सार्वजनिक गराउने र सशस्त्र प्रहरीको गणमा गएर वरिष्ठ हवल्दार साहुबाट आफुले जानकारी पाएको साँचो हो भनी कागजमा हस्ताक्षर गर्ने कार्य पत्रकारबाट भएको छ । यो गम्भीर गल्ती मात्रै होइन, पत्रकारिता पेशामाथि नै अन्याय र हवल्दार साहुमाथि अपराध भएको छ । आफुलाई सुचना वा जानकारी दिने स्रोतको गोपनियता राख्नुपर्नेमा उल्टै फलानोबाट मैले सुचना पाएको साँचो हो भनी कागजपत्रमा हस्ताक्षर गर्ने कार्य गम्भीर गल्ती हो । साथै, गणभित्र बोलाएर पत्रकारमार्फत कागजपत्र गराउने सशस्त्र प्रहरीको कार्य पनि गलत हो । कागजपत्र गराउने क्रममा एउटा राष्ट्रिय पत्रिकाको रिपोर्टर भनेर हस्ताक्षर गराइएको छ, कुनै सरोकार वा संलग्नता नभएको त्यो राष्ट्रिय पत्रिकाको नाम जोडेर अर्को गल्ती पनि गरिएको छ ।पत्रकार व्यावसायिक नभइदिदा यो घटना हुन गएको देखिन्छ । पत्रकारिता पेशाप्रति प्रतिवद्ध र व्यावसायिक रुपमा पत्रकारितालाई अंगालेका पात्र नहुदाको परिणाम हो यो । पत्रकार हुँ भन्ने फुर्ति लगाउन, सार्वजनिक जीवनमा मान–सम्मान र रवाफको लागि मात्रै पत्रकारितामा जोडिने प्रवृतिले यस्तो परिस्थिति ल्याएको छ ।
यो प्रकरणले ल्याउनसक्ने सम्भावित परिणाम र जोखिमबारे अलिकति पनि सोचविचार पुर्याएको भए अहिलेको अवस्था आउने थिएन । सशस्त्र प्रहरीभित्रको यो तथ्य सार्वजनिक हुँदा पर्नसक्ने असर, प्रभाव तथा प्राप्त हुने परिणामबारे ती पत्रकारले मात्रै होइनन् वरिष्ठ हवल्दार साहुले पनि विचार गरेनन् ।
दार्चुलाका दुइजना स्थानीय पत्रकारले जिल्लाका आधा दर्जन मिडियालाई यसबारे जानकारी बाँडेछन् । तर, कसैले पनि समाचार बनाउन सकेनन् । दार्चुलाका मिडियाले समाचार नलेख्नुका पछाडि दुइटा कारण हुनसक्छन् । पहिलो, आउट छोड्ने र राशन खाने रोग दार्चुलामा मात्र होइन, देशभरको हो । यसबारे समाचार लेख्दैमा सुधार हुँदैन, खानेले खाइरहन्छन्, गलत गर्नेले गरिरहन्छन्, हामीले एकपटक लेख्दैमा के सुधार होला ? भन्ठानेर समाचार नलेखिएको हुनसक्छ । अर्को, सशस्त्र प्रहरीको सिंगो संगठन र जिम्मेवार सुरक्षा अधिकारीको विरुद्धमा समाचार लेखिएको ठानिन्छ भनेर । यस्तो जोखिम मोल्नसक्ने आँट र हिम्मत नभएर पनि स्थानीय मिडियाले महत्व नदिएको हुनसक्छ । मिडियालाई प्राप्त सुचना वा विवरणको विश्वसनियतामाथि ढुक्क हुन नसकेर पनि समाचार नलेखिएको हुनसक्छ ।
जिल्लामा क्रियासिल सबै पत्रकार वा मिडियासम्म भने यो तथ्यगत जानकारी नपुगेको देखिन्छ । आफुलाई यो जानकारी मिलेको भए समाचार लेख्थे भन्ने पत्रकार पनि जिल्लामा छन् । अहिलेको यो प्रकरण राष्ट्रिय सञ्चारमाध्यमसम्म छाउनुको पछाडि जिल्लामै क्रियासिल पत्रकारहरुको भूमिका छ । जे होस्, उतिबेला दार्चुलाका मिडियाले समाचार नलेखे पनि धनगढीबाट सञ्चालित एउटा अनलाइनले त्यो समाचार लेख्यो । अहिले यसको गहिराइमा गएर वास्तविकता उजागर गर्न जिल्लाकै पत्रकारहरु सक्रिय छन् ।
पत्रकारिता पेशाका केही पात्रहरुले गल्ती गर्दा यसको असर सिंगो पेशामै परेको छ । धेरैले त सिंगो पत्रकारिता पेशा र सबै पत्रकारलाई गाली गर्न पनि भ्याएका छन् । हरेक व्यक्तिको बुझाइको स्तर र क्षमता फरक–फरक हुन्छ । सोहीअनुुसारको व्यवहार र प्रतिक्रिया आउनु स्वाभाविक पनि छ । तर, प्रष्ट हुनुपर्ने कुरा के छ भने आलुको बोराभित्र एक–दुइ दाना कुहिएका छन्, यो देखेर खाना पकाउने भान्सेले सिंगो आलुको बोरा नै फाल्दैन । भलै, घुमफिर गर्ने क्रममा भान्सामा छिरेका केही व्यक्तिले त्यो आलुको बोरा नै खराब छ, त्यसलाई पुरै मिल्काउनुपर्छ पनि भन्न सक्छन्, भन्दैछन् । यो उदाहरण सशस्त्र प्रहरी संगठनभित्रको हकमा पनि सान्दर्भिक हुन्छ । सशस्त्र प्रहरीभित्र राम्रो अभ्यास गर्ने र राम्रो अभ्यासको चाहना राख्ने जनशक्ति पनि होला, अवश्य छ । संगठनभित्रको वेथितिलाई सुधार भएको देख्न चाहनेहरुलाई पनि सोलोडोलोमै बदमास ठान्ने प्रवृति कदापि ठिक होइन । राम्रो कार्य गर्ने, सुधार चाहने र इमान्दारिता गर्नेहरु कम होलान् तर सही हुन्छन् ।

Leave a Reply

Your email address will not be published.