काठमाडौं , राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सम्झौता भएको छ।
सम्झौताले जेन–जी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध चलाएको आन्दोलनको अपनत्व लिंदै आन्दोलनका क्रममा घाइते भएका तथा शहीद परिवारका जायज मागहरूलाई राज्यका तर्फबाट यथोचित रूपमा सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।
सम्झौतामा नेपाललाई आगामी दस वर्षभित्र सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने दीर्घकालीन लक्ष्य लिइएको छ। त्यसका लागि गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधार गर्दै आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको बलियो जग बसाल्ने र सो मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख गरिएको छ।
पहिलो र दोस्रो पक्षबीच बृहत् एकता भएपछि स्थापना हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने सहमति भएको छ। पार्टीको झण्डा साविककै घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह घण्टी नै रहनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहने भनिएको छ।
सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन्। आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने सहमति पनि भएको छ।
पार्टी एकतापछि संगठनलाई अझ सक्षम, फराकिलो र प्रभावकारी बनाउने उद्देश्यले युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई उचित रूपमा समायोजन गरिने उल्लेख छ। जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने प्रतिबद्धता गरिएको छ।
यस सम्झौतासँग सम्बन्धित राष्ट्रिय स्वतन्त्र पार्टीका सबै आवश्यक दस्तावेज निर्वाचन आयोगमा समयमै अद्यावधिक गरिनेछ। साथै पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका एजेन्डा अघि बढाउन अन्य सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई समेत सहकार्यका लागि आह्वान गर्ने सहमति भएको छ।
सम्झौतामा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्। यसलाई नेपाली राजनीतिमा नयाँ वैकल्पिक ध्रुवीकरणको औपचारिक शुरुआतका रूपमा हेरिएको छ। सहमतिपछि रवि लामिछानेले ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’ भनेर टिप्पणी गरेका छन्।

