काठमाडौँ । धितोपत्र बजारमा ब्रोकर नम्बर ३ का रूपमा परिचित अरुण सेक्युरिटिजले डीजीहबद्वारा निर्माण गरिएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ सञ्चालनमा ल्याएको छ। यो प्रणालीबाट अब लगानीकर्ताले मोबाइल, वेब र डेस्कटप संस्करणमार्फत सजिलै सेयर कारोबार गर्न सक्नेछन्। नयाँ टीएमसीएसमा सेयर बिक्री गरेलगत्तै सो बराबरको रकमले पुनः सेयर खरिद गर्न मिल्ने, तथा रियल टाइममा आफ्नो लेजर ब्यालेन्स र कोल्याटरल विवरण हेर्न मिल्ने व्यवस्था गरिएको छ।
लगानीकर्ताले एउटै लगइन प्रयोग गरी धेरै युजर खाताबाट कारोबार गर्न सक्ने, अनि अर्डर बास्केट मार्फत छिटो अर्डर राख्न सकिनेछ। साथै, आफ्नो रोजाइको सेयरमा रियल टाइम खरिद–बिक्रीको अलर्ट राख्न सकिने सुविधा पनि छ। कारोबारको सहजता बढाउन लिन्क एन्ड डक, मल्टी विन्डो, तथा मल्टी एक्सचेन्ज जस्ता अत्याधुनिक फिचरहरू समेत उपलब्ध छन्। कारोबार सम्पन्न भएपछि क्लाइन्ट लगइन प्रयोग गरी आफ्नो विस्तृत पोर्टफोलियो, लेजर विवरण, कारोबार हिसाबकिताब र अन्य वित्तीय प्रतिवेदनहरू सजिलै हेर्न मिल्ने व्यवस्था गरिएको छ।
नेपाल धितोपत्र बोर्डले हालै धितोपत्र व्यावसायी नियमावली २०६४ को छैठौँ संशोधन गर्दै २० करोडभन्दा बढी चुक्तापुँजी भएका ब्रोकरहरूलाई मार्जिन कारोबार सेवा दिने अनुमति दिएपछि अरुण सेक्युरिटिजले नेप्सेसँगको पुरानो टीएमएस सम्झौता रद्द गरी नयाँ प्रणालीमार्फत कारोबार सुरु गरेको हो। हाल कम्पनीसँग करिब २ लाख लगानीकर्ता आवद्ध छन्, जसले अब ‘एट्रेड’ प्रणालीमार्फत सुरक्षित, छरितो र पारदर्शी कारोबार अनुभव लिन सक्नेछन्।