रुपन्देही ३ को उपनिर्वाचनका लागि रास्वपाले माग्यो उम्मेदवारको दरखास्त


रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ ।

पार्टीका जिल्ला सभापति मधु अर्यालले सोमबारदेखि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरिएको जानकारी दिए। उनका अनुसार दरखास्त साउन ७ गते बिहान १० बजेदेखि साउन २१ गते बेलुका ५ बजेसम्म अनलाइन माध्यमबाट दिन सकिनेछ। दरखास्त दिनका लागि रास्वपाको मोबाइल एप डाउनलोड गरी सोही एपबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

पार्टीले उम्मेदवार छनोटका लागि विस्तृत कार्यतालिका समेत सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार साउन २२ गते प्राप्त दरखास्तको नामावली सार्वजनिक गरिनेछ भने साउन २३ र २४ गते दाबी तथा विरोध पेस गर्न सकिनेछ। त्यसपछि साउन २५ गते उम्मेदवारहरूसँग अन्तर्क्रिया हुनेछ र साउन २६ मा प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। साउन २७ देखि भदौ ११ गतेसम्म उम्मेदवारहरूको नेतृत्व क्षमता, राजनीतिक दृष्टिकोण तथा समावेशिताको मूल्यांकन गरिनेछ। भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गरिनेछ र अन्ततः भदौ १५ गते अन्तिम नामावली प्रकाशित हुनेछ।

पार्टीले उपनिर्वाचनसम्बन्धी थप जानकारीका लागि केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति वा रुपन्देही जिल्ला समितिसँग सम्पर्क गर्न आग्रह गरेको छ। निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरिसकेको छ र प्रक्रिया अगाडि बढाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *