देउवाको निस्क्रियता, नयाँ सरकार गठन गर्नुपर्ने पौडेल पक्ष


काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेताहरूलाई बोहोराटार बोलाएका छन्। नेता पौडेलले आफ्नै निवास बोहोराटारमा दिउँसो १ बजेका लागि नेताहरूको भेला आह्वान गरेका हुन्।

महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरूलाई पौडेलले बोलाएका हुन्। पार्टीको १४औं महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि भेला आह्वान गरिएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा ढिलासुस्ती गरेका कारण पौडेल पक्ष असन्तुष्ट छ। सभापति देउवाले भने परिस्थिति अझै परिपक्व नबनेको बताउँदै आएका छन्। एमालेको आन्तरिक किचलो, माओवादी केन्द्र र जसपाको संस्थागत निर्णयपछि मात्र ओलीको विकल्पबारे कदम चाल्न सकिने देउवाको भनाइ छ।

पौडेल पक्षले भने यसका लागि पनि कांग्रेस आफैले अग्रसरता देखाउनुपर्ने बताउँदै आएको छ। सोहीअनुसार पदाधिकारी बैठकमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने निष्कर्ष निस्किएको भएपनि सो अनुसार सभापति देउवाले कुनैपनि कदम नचालेको पौडेल पक्षको आरोप छ।

यसै विषयमा थप दबाब दिन पौडेलले आफू पक्षीय शीर्षस्थ नेतासँग संवाद गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *