यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय


काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए।

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार सांगठनिक कामलाई सम्पन्न गर्न सुझाव दिनका लागि नेपालको नेतृत्वमा गृहकार्य टिम बनाएको छ। गृहकार्य टीममा अष्टलक्ष्मी शाक्य, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन्। यो टिमले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठनको बारेमा र पार्टी संगठनको एकीकरणको काम सम्पन्न गर्न सुझाव दिनेछ। त्यसका लागि एक हप्ताको समयसीमा तोकिएको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई जना प्रदेश इञ्चार्जलाई हटाएको छ।

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई लुम्बिनी प्रदेश इञ्चार्ज र पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। दुवै इञ्चार्ज प्रधानमन्त्री ओली समूहका हुन्।

यस्तै, बैठकले लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवाली र गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिएको स्थायी कमिटी सदस्य डा। बेदुराम भुसालले जानकारी दिए।

यस्तै, बैठकले गण्डकी प्रदेशका सहइञ्चार्ज किरण गुरुङलाई पनि हटाएको छ। गण्डकी प्रदेश सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको भुसालले जानकारी दिए।

साभार लोकपाटी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *