लामो दूरीका यातायात चलाउन यी नियम मान्नै पर्ने


काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएको सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ ।

सोमवार बसको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै छोटो तथा लामो दुरीको यातायात र आन्तरिक हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा असोज १ गते देखि संचालन हुने बस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने परराष्ट्रमन्त्री तथा सरकारका प्रबक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

‘लामो दुरीका सवारी साधनहरुको आवागमनमा हामीले लामो समयसम्म रोक लगायौं, यसबाट व्यवसायी र यात्रुहरुलाई पनि कठिनाइ भयो’ मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘असोज १ गतेदेखि लामो दुरीका सवारी साधनहरुलाई खुल्ला गरेका छौं । तर, यसका लागि हामीले केही निश्चत शर्तहरु तोकेका छौं । यसको कडाइका साथ पालना गर्न आग्रह गर्छौं ।’

सर्तहरु
सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइनेछ , भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन, सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ , यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारीसाधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ , चालक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्नेछ, सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्नेछ, यो अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउनुहुनेछ, यस सम्बन्धमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्नेछन् र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुनेछ । र, यसको अनुगम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नू गराउनुपर्नेछ, संक्रमणको जोखिम बढ्दै गयो भने रिस्कको एनालाइसिस गरेर स्थानीय प्रशासनले आवश्यक थप निर्णयहरु गर्न सक्नेछ ।

माथि उल्लेखित सर्त पालना नगरे यातायात सञ्चालनमा रोक लगाउन सक्ने समेत बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *