यस्रताे छ रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति


काठमाडौं , राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे सहमति भएको छ।

सहमति अनुसार नवयुवाहरूले भ्रष्‍टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका जायज मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

साथै, समुन्नति र सामाजिक न्याय हासिल गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा दुवै पक्ष समर्पित रहने सहमति भएको छ।

बृहत् एकता पश्चात् गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने तथा चुनाव चिन्ह ‘घण्टी’ कायम रहने उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।

सहमति अनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्।

पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गरिने र जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, समावेशिता तथा सार्वजनिक छविलाई आधार मानिने सहमति पनि भएको छ।

आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने उल्लेख छ।

साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गर्ने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *