इण्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते


काठमाडौं । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।

सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् ।

उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि उनीहरु तिनै जनालाई उपचारका लागि दिल्ली लगिएको थियो ।

उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीप राजनले इण्डियन आइडल सिजन १२ को उपाधि जितेका थिए । केही वर्षअघि उनले काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

पवनदीपका बुवा सुरेश राजनले पत्रकारहरुलाई दिएको जानकारी अनुसार उनी आमालाई उत्तराखण्डस्थित घरमा छाडेर दिल्ली फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । उनका साथमा उनको ड्राइभर राहुल सिंह र साथी अजय मेहरा थिए ।

राजन ड्राइभरको छेउँको सिटमा बसेका थिए भने उनका साथी अजय पछाडिको सिटमा थिए । गाडी चलाउने बेला ड्राइभर निदाएकाले कार अनियन्त्रित हुँदै अर्को गाडीमा ठोक्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *