नेकपा विभाजन, ओलीबाट रुष्ट भएका एमालेका नेताहरु माओवादी केन्द्रसँग फरक नाम राखेर एकता


काठमाडौँ। सर्वोच्च अदालतले पार्टी विभाजित गरिदिएको २४ दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुनरावलोकनको निवेदन लिएर सर्वोच्च गए। तत्कालिन नेकपा अर्थात एमाले र माओवादी केन्द्रबीचको एकता कायम रहनु पर्ने मागसहित उहाँ अदालत गएको २ दिनपछि सर्वोच्चले पुनरावलोन नगर्ने फैसला सुनाइदियो। अब नयाँ ढंगले मिलेर आउने भए आउ तर पुरानो एकता अब कायम हुँदैन भन्ने फैसला गरिदियो। यो फैसलासँगै अब एमाले र माओवादी केन्द्रबीचको एकता कायम हुने बाटो औपचारिक रुपमा टुंगिएको छ । कानुनी रुपमा असन्तुष्टि जनाउँने बाटो पनि बन्द भएको छ।

अदालतले यसरी ढोका बन्द गरिदिएपछि पार्टी एक बनाउँने दाहालको योजनामा तुसारापात लागेको छ। प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुलाई पार्टीबाट निलम्बन गरेपछि अदालतले भंग गरेको एकता कायम हुनुपर्ने भन्दै दाहाल सर्वोच्च पुगेका थिए। तर, उनको मागलाई सर्वोच्चले सुनुवाई नै गरेन्। अदालतले कानुनी लडाइँको बाटो बन्द गरिदिएपछि दाहाल राजनीतिक रुपमा लडाइँ लड्ने र अन्य विकल्पको बाटो खोज्ने तयारीमा जुटेका छन्। त्यसका लागि अब माधव नेपालसहित ओलीबाट असन्तुष्ट बनेका एमालेका नेताहरुसँग नयाँ शिराबाट छलफल शुरु हुने भएको छ। कानुनविद्समेत रहेका माओवादी केन्द्रका नेता रामनारायण विडारीका अनुसार चाँडै नेपाल पक्षसँग छलफल हुनेछ। एकताका लागि नयाँ ढंगबाट प्रयास हुनेछ।

ओलीबाट रुष्ट भएका एमालेका नेताहरुबीच पनि माओवादी केन्द्रसँग फरक नाम राखेर एकता गर्नु पर्ने विषयमा छलफल भएको छ। सकेसम्म नेकपालाई नै ब्युताउँने नभए अन्य विकल्प खोजी गरेर भएपनि पार्टी एकता गर्नुपर्ने अधिकांश नेपाल पक्षका नेताहरुको राय छ। तर, यो बाटो अपनाउँन तत्कालका लागि नेपाल पक्षलाई कठिन देखिन्छ। किनकी नेपाल पक्षले माओवादी केन्द्रसँग नयाँ ढंगले एकता गर्दा पहिला एमालेलाई फुटाउँनु पर्ने हुन्छ।

केन्द्रीय कमिटीमा ४० प्रतिशत भएपनि संसदीय दलमा ४० प्रतिशत नरहेकाले एमाले फुटाउँन नेपाल पक्षलाई कठिन देखिन्छ। यदि पार्टी फुटाएको अवस्थामा एमाले छोड्ने सबै नेताहरुको सांसद् पद स्वत जाँने छ। यसकारण पनि नेपाल पक्ष तत्कालै यो रिक्स नउठाउने मनस्थितिमा छ। तर, माओवादी केन्द्रसँग मिलेर अघि बढ्ने उसको तयारी छ। तत्काल कार्यगत र पछि पार्टी एकताको आधार र सम्भावानाका विषयमा नेपाल पक्षमा छलफल चल्दै आएको छ।

माओवादी केन्द्रसँग एकता नभए पनि नेपाल पक्ष ओलीसँग मिल्ने र एमाले एक हुने सम्भावना अत्यन्त न्यून छ। जुन कुरा ओलीले एकपछि अर्को गर्दै नेपाल पक्षका नेताहरुमाथि गरेको कारबाहीले पुष्टि गर्छ। सोमबार माधव नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्वन गरेका ओलीले बिहीबार सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेका छन्। जुन कारबाही पछि भुसालले ट्वीट गर्दै असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको भन्दै टिप्पणी गरेका छन्। एउटा धरै राम्रो पार्टीलाई गुटमा बदलेको र अहिले त्यो गुट राज्य दोहनमा लागेको आरोप लगाएका छन्। योगेश भट्टराइले पनि वौद्धिक र कर्मशिल कार्यकर्तालाइ कारबाही गरेर पार्टी एकता हुन नदिने हर्कत मान्य नहुने बताएका छन्। भुसाल र भट्टराईको ट्वीटले पनि अब एमाले एक हुने सम्भावनालाई न्यून बनाइदिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *