दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो


  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए ।

भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । कर्तव्य पालनाको सिलसिलामा प्रहरी जवान चौधरीको ज्यान गएको प्रवक्ता प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका हुन्।  हतकडी सहित भागेको तथा ज्यान गुमाएका प्रहरी जावन चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भिर चोट लागेको थियो । ज्यान गुमाएका प्रहरी जवान चौधरीको घर कैलालीको कैलारी गाउँपालिका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फाली महाकालीमा पौडी खेलेर भारततिर पुगेका उमेश कुवरलाई भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

हिरासतमा रहेका कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि समेत चक्कु प्रहार गरी फरार रहेका थिए । कुँवरलाई प्रहरीले यहि फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।  कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *