कैलालीमा १० जना बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि


धनगढी । कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो। सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार र चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक र एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
पहिलो पटक भदौ १ गते धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको थियो। ती युवक धनगढी उप महानगरपालिका–४ मा डेरा गरी बस्दै आएका छन्।
उनको सम्पर्कमा रहेका बैंकका अन्य ३८ जना कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ। कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरियामा रहेको ग्लोवल आईएमई बैंकका थप तीन जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो।

डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परीक्षणमा ग्लोबलमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको थियो। यसै साता धनगढीमा रहेको सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो। संक्रमित कर्मचारीको घर कञ्चनपुर हो भने उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका थिए।

बुधवार मात्रै धनगढीमा भएको परीक्षणका क्रममा सिविल बैंकका चार कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। उनीहरु लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाको शाखामा कार्यरत रहेका छन्।

लम्कीचुहा नगरपालिकाको शाखामा कार्यरत दुई जना र जानकी गाउँपालिकाको शाखामा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
बिहिवार भएको परीक्षणमा धनगढीमा रहेको कृषि विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीको क्याम्पस चोक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा २९ बर्षीय बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो। उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *