जापानमा एक शहरकी मेयरले सुत्केरी बिदा लिने भएपछि विरोध भएको छ।
करीब ६८ हजार जनसंख्या भएको पश्चिमी जापानको यावाताकी मेयर शोको कावाता पहिलो बच्चा जन्माउन बिदा लिने भनेर मे महिनामा घोषणा गरेकी थिइन्।
३५-वर्षीय कावाता जापानको इतिहासमै सुत्केरी बिदा लिने पहिलो मेयर हुने भए पछि उनलाई गैरजिम्मेवार र आफ्ना जनताभन्दा व्यक्तिगत जीवनलाई माथि राखेको आरोप लगाइएको भनेर द न्युयोर्क टाइम्सले लेखेको छ।
सहरकी मेयरले सुत्केरी बिदा लिन लागेको भनेर यसरी विरोध गर्नेमा विशेष गरी पुरुषहरू रहेका छन्।
‘मैले कता कता पहिलो पटक महसुस गरेँ कि अझै पनि समाजमा कति धेरै भेदभाव व्याप्त छ,’६ महिनाकी गर्भवती कावाताले गत हप्ता टाइम्सलाई अन्तर्वार्ता दिँदै भनिन्।
कावाताको निर्णयले कामकाजी महिलाहरूले पितृसत्तात्मक जापानमा अझै पनि सामना गर्नुपर्ने अवरोधहरूका बारेमा राष्ट्रिय बहस निम्त्याएको छ। चाहे त्यो कारखाना होस्, कर्पोरेट कार्यालय होस् वा सरकारमा कम उमेरका आमाहरू विरुद्धको भेदभाव अझै पनि यति आम छ कि यसका लागि जापानी भाषामा एउटा छुट्टै शब्द नै छ: माताहारा अर्थात् मातृत्व उत्पीडन।
केही महिलाहरू आफ्नो ‘करियरमा’ असर पर्न सक्ने डरले लामो सुत्केरी बिदा लिन समेत हच्किन्छन्।
गत वर्ष सनई ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भई इतिहास रचे पनि जापानी सरकारमा महिलाहरूको सङ्ख्या अझै पनि निकै कम छ।
स्थानीय तहमा त यो अवस्था झनै नाजुक छ। गत वर्षको तथ्याङ्क अनुसार, १७ सय ४० स्थानीय निकायका प्रमुखमध्ये चार प्रतिशतभन्दा कम मात्र महिला थिए।
पुरूष प्रधान जापानमा केही समयअघि प्रधानमन्त्री ताकाइची सहित झण्डै ६० जना महिला सांसदहरूले संसद भवनमा शौचालयको संख्या थप गर्न माग गरेका थिए।
जापानको केन्द्रीय संसद ‘डायट’ को मुख्य बैठक हल नजिकै महिलाका लागि दुई वटा मात्र कोठा भएको एउटै शौचालय छ।
परम्परागत रूपमा पुरूष मात्रै सांसद हुने भए पछिल्लो समयमा महिला सांसदको संख्या पनि केही बढ्न थालेको छ। पछिल्लो निर्वाचनमा ७३ जना महिला तल्लो सदनका लागि निर्वाचित भएका थिए।
तर एक पटकमा दुई महिलाले मात्रै शौचालय प्रयोग गर्न मिल्ने भएकाले हरेक बैठकअघि उनीहरूले लामो लाम लाग्नुपर्ने हुन्छ। त्यसैले महिलाहरूको बढ्दो प्रतिनिधित्व अनुसार शौचालय थप्न भनेर प्रधानमन्त्री ताकाइचीले सहित झण्डै ६० जना महिला सांसदहरूले गर्दै निवेदन दर्ता गराएका थिए। तर अझै पनि संसदमा महिलाका लागि शौचालय थपिएको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

