पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै नेपाल फर्कने, जारी गरे विज्ञप्ति


नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउनभित्रै स्वदेश फर्कने भएका छन्।

देउवाका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्री देउवा यही महिनाभित्र स्वदेश फर्कने तयारीमा छन्।

देउवा उपचारको सिलसिलामा हङकङमा छन्। ‘उहाँहरू यही महिनाभित्र स्वदेश फर्कनुहुन्छ,’ भानुले भने, ‘कति गते स्वदेश फर्कने भन्ने तय भइसकेको छैन।’

साथै पूर्वप्रधानमन्त्री देउवाले आज प्रेस विज्ञप्ति पनि जारी गरेका छन्। बिपी कोइरालाको स्मृति दिवसको अवसरमा देउवाले विज्ञप्ति जारी गरेका हुन्।

पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्ति जारी गरेको उनका स्वकीय सचिव भानुको भनाइ छ।

विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा आफू विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालीरहेको छु,’ उनले भनेका छन्, ‘भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन।’

उनले नेपाली भूमिमा पुन: आफूले पाइला टेक्न लागेको पनि बताएका छन्।

‘म नेपाली भूमिमा पुन: पाइला टेक्दैछु, सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले भनेका छन्।

देउवा दम्पतीमाथि जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो। त्यसपछि उपचारका लागि देउवा पटक पटक विदेश गइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *