बालेनको अपव्ययः महानगरका १६२ जनप्रतिनिधिका लागि बनाए सुनको ‘ब्याच’


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधिहरूका लागि सुन र चाँदी मिश्रित लोगो बनाएर फजुल खर्च गरेको भेटिएको छ ।

महानगरपालिकाले जनप्रतिनिधिका लागि भन्दै १६२ वटा लोगो (ब्याच) बनाएर फजुल खर्च गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक प्रतिवेदनमा महानगरपालिकाले उक्त अपव्यय गरेको उल्लेख गरेको छ । 

महानगरपालिकाले १६२ पदाधिकारीका लागि ४८६ ग्राम सुन र १,९४४ ग्राम चाँदी प्रयोग गरी लोगो निर्माण गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कार्यका लागि महानगरले नेपाल राष्ट्र बैंकलाई ५० लाख भन्दा बढी रकम भुक्तानी गरेको हो । 

त्यस्तै लोगोको डाइस निर्माणका लागि उत्तम ह्याण्डी क्राफ्टलाई  ३५,३०० एवं घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई ४ लाख भन्दा बढी रकम भुक्तानी गरेको भेटिएको छ । 

महालेखाका अनुसार यसरी बनाइएका लोगोको प्रति एकाइ लागत मूल्य ३४ हजार ५०२ परेको छ । प्रतिवेदनमा सामान्य प्रकृतिको लोगो निर्माण गर्दा पनि प्रयोजन पूरा हुने हुँदा सुन–चाँदीजस्तो बहुमूल्य सामग्री प्रयोग गर्नु मितव्ययी नभएको र खर्चको औचित्य पुष्टि हुन नसकेको ठहर गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) अनुसार बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्य कायम गर्नुपर्ने व्यवस्था भएपनि बालेनको कार्यालयले उक्त कुरामा नजरअन्दाज गरेको भेटिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *