मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?


काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि महत्वपूर्ण छ । कूल आठ जना सिईओ मध्ये दुई वटा नयाँ कम्पनीमा सिईओ छनौट गर्न बाँकी छ भने छ वटा कम्पनीमा सिईओ समेत लगभग निश्चित जस्तै भइसकेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको एकिकृत कारोबार साउन १ गतेदेखि हुँदैछ । मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेष्ट जनरल इन्स्योरेन्स राखिएको छ । दुई कम्पनीबीचको लोगो पनि सार्वजनिक भईसकेको छ ।

दुई कम्पनीबीच अध्यक्ष र सिईओको अन्तिम निर्णय भईसकेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह बन्दैछन् । मर्जरपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सिईओ कमल गौतमको भने मर्जरपश्चात् बिदाई गरिने भएको छ ।

नेपाल बीमक संघको अध्यक्ष भईसकेका विजय बहादुर शाह अन्तराष्ट्रिय एआईआरडीसीका अध्यक्ष समेत भएर काम गरिसकेका अनुभवी बीमा प्रशासक हुन् ।नेपाल इन्स्योरेन्स र एनएलजीमा सिईओको रुपमा कार्यभार सम्हालिसकेका शाहले चार्टर्ड एकाउन्टेन्ट र एमबीएसम्मको अध्ययन गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मर्जर सम्झौता सम्पन्न भएको छ । दुई कम्पनीबीच अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट हुनेछन् भने सिईओमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट चंकी क्षेत्री हुने भएको छ । सिईओ चंकी क्षेत्री बीमक संघका अध्यक्ष समेत हुन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक भई बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत रमेश कुमार भट्टराई रहने छन् । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईसँग बैंकिङ् र बीमाको लामो अनुभव छ । त्यस्तै प्रभु लाइफको तर्फबाट अध्यक्ष पाउनेछन् ।

सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्याय बन्दैछन् । सो मर्जरमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट अध्यक्ष बन्नेछन् । यद्यपि जनरल इन्स्योरेन्स कम्पनीभित्र नै विवाद छ ।

सिद्धार्थ इन्स्योरेन्समा दोस्रो कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका बीरेन्द्र बैदावार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्दैछन् । सो मर्जरमा प्रिमियर इन्स्योरेन्सका सिईओ विश्व तिमलाको परर्फमेन्स राम्रो नभएका कारण सो कम्पनीले अध्यक्ष पद लिन लागेको हो ।

उता, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स मर्जर भएर बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा राकेश पोखरेलल आउनेछन् । उनी हाल रिलाइन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा डीजीएम, आईएमई लाइफ इन्स्योरेन्समा जीएमको भूमिका निर्वाह गरेको पोखरेल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । त्यस्तै, सानिमा लाइफले अध्यक्ष पद पाउनेछ ।

यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरपछिको प्रमुख कार्यकारी अधिकृत बन्ने भन्ने स्पष्ट भएको छैन । हाल एक्चुरी भ्यालुएशनमा रहेको मर्जर प्रक्रियामा नाम र सिईओ तथा अध्यक्ष चयन गर्न बाँकी छ ।

प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल यहि असार मसान्तमा सकिएको छ । तसर्थ यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण नै नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना छ । यद्यपि गुराँस लाइफका सिईओ विपिन कुमार लाल समेत निकै प्रभावशाली व्यक्ति हुन् । त्यसैले उहाँहरु दुई जना मध्येबाट अध्यक्ष र सिईओ मध्ये एक जना कम्पनीले पाउने सम्भावना छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको छ । तर अध्यक्ष र सिईओको बिषयमा भने यी दुई कम्पनीबीच छिनोफानो भईसकेको छैन ।@beemapost बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *