कैलालीको लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार


धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ।

गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको’ प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा

गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार प्रमुखमा दावी गरेका मध्ये दुईजनाको उम्मेदवारी भने रद्द भएको छ। यसरी उम्मेदवारी रद्द हुनेमा नेपाली काँग्रेसका भक्तबहादुर थापा र नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावल रहेका छन्। उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए।

प्रमुखमा उम्मेदवारी दर्ता गरेका मध्ये नेकपा माओवादी केन्द्रका लोकराज ढकाल र नेकपा एकिकृत समाजवादीका बखतबहादुर बिष्टको उम्मेदवारी समेत फिर्ताको तयारीमा रहेको छ। बिष्टले पार्टीको निर्देशन अनुसार नै आफूले उम्मेदवारी फिर्ता गर्ने बताए।

नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज लालबहादुर कुमालले ढकालको उम्मेदवारी फिर्ता गरेर गठनबन्धनको सहमति अनुसार अघि बढ्ने जानकारी दिए। उनले आफ्नो पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवार रहने बताए।

नेपाली काँग्रेस लम्कीचुहा नगर समितिका सभापति इन्द्र कुँवरले गठनबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार रहने बताए।

गठबन्धनले प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवारअघि सारेपछि सकारात्मक र नकारात्मक दुवैखाले चर्चा भैरहेका छन्। कतिपयले दुवै पदमा महिलाको उम्मेदवारीलाई राम्रो भनेका छन् भने कतिपयले महिलाले नगरपालिका हाक्ने कुरामा आशंका व्यक्त गर्ने गरेका छन्।

प्रमुखका दावेदार शाहीले महिला भएकै कारण आफूहरुको क्षमता माथि शंका नगर्न आग्रह गरेकी छन्। उनले उत्कृष्ठ नगरपालिका बनाएर देखाउने दावी गरिन्।   @nagriknews बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *