गुटको भेला गर्ने मुख्य व्यक्तिबाट कारवाही शुरु हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा कुनै पनि डिल नहुने प्रष्ट पारेका छन्। एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु हुने समेत ओलीले चेतावनी दिएका छन्।

बुधवार राती नेपाल प्रेस अनलाइनसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल–झलनाथ खनालहरु अहिले एमाले नरहेको समेत बताएका छन्। ओलीले भेला गरेबापत र विगतमा आफूलाई कारवाही गरेबापत माफी मागेर आएको खण्डमा स्थान दिन सकिने बताए।

ओलीले भने, ‘सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन, पार्टीका कार्यकर्ता आआफ्ना ठाउँमा बस्नुपर्छ। गुटको दलबल लिएर आउन पाइदैन। पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ।’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई फुटेर प्रचण्डसँग जान कानुनी समस्या परेको हो भने अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गर्ने समेत बताए।

ओलीले भने ‘फुटेर जान समस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ, अध्यादेश विधेयक केही गरेर जान दिउँला। पार्टी भनेको स्वेच्छाले बस्ने हो, करकाप गरेर बस्ने होइन। म लोकतान्त्रिक मान्छे हुँ, बँधुवा बनाएर राख्दिन।’

ओलीले माधव नेपाल पक्षको भेलामा गएका सबैमाथि कारवाही नहुने भन्दै २५ प्रतिशत कार्यकर्ता आफूले त्यहाँ पठाएको समेत दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *