शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित


काठमाडौँ । शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ ।

बिहीबार बसेको शीर्ष नेताहरुबीच बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे सहमति नजुटेपछि बैठक स्थगित भएको हो । नेताहरुका अनुसार बैठक कात्तिक २४ गते सोमवार बस्ने भनिएको छ ।

बिहीबार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६(बुँदे असहमतिमा सहमति नजुट्दा बैठक सारिएको हो ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले अघि सारेको १६ बुदें असहमतिका बारेमा टुङ्गो लगाएर मात्र केन्द्रीय समिति बैठक बस्ने बताउनुभयो। सवै बिषयमा सहमति खोज्ने र त्यसपछि २४ गते केन्द्रीय समिति बस्ने जानकारी दिनुभयो ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए ।

क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ ।

महाधिवेशन नजिकिएका बेला सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन्।

तर देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *