सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी सेवा विस्तार


महेन्द्रनगर । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ ।

यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

“प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि निर्माण कार्य बन्द भएकाले टावर विस्तारमा केही ढिलाइ भएको छ ।” टावर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएकाले लकडाउन र निषेधाज्ञाका कारण कम्पनीका प्राविधिक आउन नसक्दा टावर निर्माण कार्य प्रभावित भएको उहाँको भनाइ छ । बाँकी टावरको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पनि उहाँले बताउनुभयो ।

निर्देशक न्यौपानेका अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेशका धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगर गरी १२ ठाउँमा फोर जी इन्टरनेट सेवा शुरू गरिएको थियो । हाल टेलिकमको फोर जी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा विस्तार भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *