लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ


प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ। दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

त्यस्तै विर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागू औषध ९ब्राउनसुगर० सहित नियन्त्रणमा लिएको हो।

त्यस्तै मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट आठ दशमलव पाँच ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नम्बर १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। लागू औषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६ नंको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

विर्तामोड नगरपालिका–१ अदुवा खोला छेउबाट लागू औषधको कारोबार गरिरहेका तीन जनालाई शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा प्रहरीले लागू औषध ९ब्राउनसुगर० बिक्री गर्दागर्दै तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा सन्दीप धिमाल, आकाश राई र आशिष राई रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ। पछिल्लो समय झापामा लागू औषध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। सोही क्रममा प्रहरीले एकै दिन जिल्लाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *