कुलमान घिसिङ दोहोरिने निश्चित, प्रस्ताव तयार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्त गर्न राजी भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।

सातौँ तहको इन्जिनियरबाट ९२०५१ सालमा० नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन । अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आम मानिसको मन जितेका थिए ।

यसैबीच घिसिङलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भने रहेको बताइएको छ । सो समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्नुपरेपनि गरेर निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *