काँग्रेसद्वारा रौतहट र मोरङ घटनाको अनुसन्धान गर्न माग


काठमाडौँ । नेपाली काँग्रेसले रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति ध्यान आकृष्ट भएको जनाएको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

यस्तै मोरङको कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पु¥याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै पार्टीले सो घटनाको पनि सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ । प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गत जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको बताउनुभएको छ । यसैगरी काँग्रेसले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लाग्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *