दार्चुलाबाट डा. गोविन्द केसीको २४औँ सत्याग्रह घोषणा


दार्चुला,  वरिष्ठ चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि २४औँ सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।
दार्चुलाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले पटक–पटक भएका सहमति र आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको तथा बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। यद्यपि, अनशन बस्ने स्थान भने सार्वजनिक गरिएको छैन।
डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयन, चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई गैरनाफामूलक बनाउने व्यवस्था लागू गर्न, निजी मेडिकल कलेजमा मापदण्डविपरीत सशुल्क सिट वृद्धि तथा छात्रवृत्ति कटौतीको निर्णय खारेज गर्न माग गरेका छन्।
त्यसैगरी, गेटास्थित शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका विवादित नियुक्ति तत्काल बदर गर्न, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य पूर्वाधार विस्तार गर्न तथा विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।
विज्ञप्तिमा मागहरूको सम्बोधन नभएकाले सत्याग्रह सुरु गर्नुपरेको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने चेतावनी समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *