कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ


धनगढी,कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् ।भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको उनले बताए ।निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *