‘मदन पुरस्कार २०८१’ का लागि छानिए उत्कृष्ट सात पुस्तक


काठमाडौँ । नेपाली साहित्यको प्रतिष्ठित सम्मान ‘मदन पुरस्कार’का लागि २०८१ सालका उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ।

मदन पुरस्कार गुठीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस वर्षको पुरस्कार प्रतिस्पर्धाका लागि छानिएका सात उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक सूचीमा समावेश कृतिहरूमा छुदेन काविमोको उपन्यास ‘उरमाल’, रमेश भुसालको नियात्रा ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको निबन्ध संग्रह ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको कवितासंग्रह ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरूपी’, सुधीर शर्माको गैरआख्यान ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरूङको उपन्यास ‘हिउँको गीत’ रहेका छन्।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यस वर्ष कुल २९९ पुस्तक प्राप्त भएका थिए। तीमध्ये विविध विधा, दृष्टिकोण र साहित्यिक मूल्यका आधारमा विश्लेषण गरी नेपाली समाज, संस्कृति, इतिहास, भाषा तथा समसामयिक यथार्थलाई गहिरो अभिव्यक्ति दिने सात कृति अन्तिम प्रतिस्पर्धाका लागि छानिएका हुन्।

मदन पुरस्कार प्रत्येक वर्ष नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउने कृतिका लेखक वा लेखिकालाई प्रदान गरिन्छ। यस पुरस्कारको स्थापना वि.सं. २०१२ मा मदन शमशेर र उनकी पत्नी रानी जगदम्बादेवीको स्मृतिमा गरिएको थियो। पुरस्कार राशिको सन्दर्भमा मात्र नभई साहित्यिक गरिमा र मान्यताको दृष्टिले पनि यो सम्मान उच्च मूल्य राख्ने मानिन्छ।

गुठीले अब छनोटमा परेका पुस्तकहरूमाथि पुनः समीक्षा गरी अन्तिम विजेताको घोषणा आगामी महिना गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *