चितवनको स्पष्टीकरणले पुगेन, बालेनसँग सदनमै खण्डन खोज्दै ओली !


प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको दबाब अझै कायम रहेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनमा दिएको प्रधानमन्त्रीको स्पष्टीकरण पर्याप्त नभएको भन्दै संसदमै उपस्थित भएर अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन्।

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त भनाइ संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले औपचारिक रूपमा स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।

यसबीच असार ७ गते रास्वपाको चितवनमा सम्पन्न महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री बालेनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै नेपालसँग त्यसका ऐतिहासिक प्रमाण रहेको बताएका थिए। उनले आफ्नो अभिव्यक्तिको गलत अर्थ लगाइएको दाबी गर्दै सीमा विवाद नेपालले कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका थिए।

तर आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले चितवनमा दिएको अभिव्यक्तिलाई संसदमा उठेको विवादको उत्तर मान्न नसकिने बताए।

उनले भने, “लिपुलेक र कालापानी नेपालको हो भन्ने विषयमा विवाद छैन। विवाद त ‘नेपालले भारतको थुप्रै भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिमा हो, त्यसको अहिलेसम्म खण्डन भएको छैन।”

यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पनि प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु नै राष्ट्रहित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको गरिमा अनुरूप हुने बताएकी थिइन्। उनले महाधिवेशनको मञ्चबाट स्पष्टीकरण दिनुभन्दा संसदमै औपचारिक जवाफ दिनुपर्ने धारणा राखिन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर विरोध भइरहेका बेला विपक्षी दलहरूले अब पनि प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग दोहोर्याइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *