काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ । स्वयंलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले आयोगमा बिहीबार दर्ता गराएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारको वैधानिक अधिकार र पहिचानमा असर पुर्याएको उल्लेख गरिएको छ ।
सफलले दलसँग आफ्नै विचार, सिद्धान्त र नीति हुने भएकाले कुनै पनि दल स्वतन्त्र हुन नसक्ने उल्लेख गरेका छन् । “स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रममा पार्ने काम भएको छ, जुन मतदाताको आँखामा छारो हाल्ने प्रयासजस्तै हो,” निवेदनमा उल्लेख छ ।
यसका साथै सफलले रास्वपाको चुनाव चिह्न ‘घण्टी’ हटाउन पनि माग गरेका छन्। उनले हिन्दू धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने घण्टी धार्मिक आस्था, विश्वास र मूल्यसँग जोडिएको प्रतीक भएको समेत उल्लेख गरेका छन् ।
“धार्मिक आस्थाको केन्द्रमा रहेको चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक छ,” सफलले उल्लेख गरेका छन्, “यो कार्य धर्मनिरपेक्ष राज्यको मर्मविपरीत समेत भएको छ।”
रवि लामिछानेको नेतृत्वमा गठित रास्वपा हाल प्रतिनिधिसभामा चौथो ठूलो दलका रूपमा रहेको छ । यस विषयमा पार्टीको तर्फबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन ।