शैल्यशिखरका पूर्वमेयर र उनको टिमले फिर्ता गरेन लाखौँ मूल्य बराबरको सरकारी समान


दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्वमेयर अमरसिंह धामी र उनको टिममा काम गरेका उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले अझैसम्म पनि सरकारी समान फिर्ता नगरेको भेटिएको छ।

मेयर धामीले मात्रै ६ लाख भन्दा बढीको सरकारी समान फिर्ता नगरेको भेटिएको हो। मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा, कुलर ४ वटा, डिस होस १ वटा तथा डाइनिङ टेबुल २ वटा फिर्ता नगरेको देखिएको हो। मेयरले प्रयोग गरिरहेका उक्त सामग्रीको मूल्य ६ लाख ३४ हजार ९ सय ४६ रुपैयाँ रहेको महालेखा परीक्षक कार्यालय स्रोतले जनाएको छ।

त्यस्तै, उनकै कार्यकालमा उपमेयर पद सम्हालेकी राजमती बमले पनि १ लाख ६० हजार भन्दा बढी मूल्य बराबरको सरकारी समान फिर्ता बुझाएकी छैनन्। उनले टिभी १ वटा, बेड २ वटा, डाइनिङ टेबल १, मोबाइल १ र डिसहोम लगायतका सामग्री फिर्ता गरेकी छैनन्। उक्त समानको मूल्य १ लाख ६० हजार ५९८ रहेको छ।

त्यस्तै, आफूलाई पूर्व मेयर धामीको स्वकीय सचिव भन्न रुचाउने विनोदसिंह धामीले २ लाख भन्दा बढी मूल्य बराबरका सरकारी सामाग्री फिर्ता नगरेको बेरुजु महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेपछि उनले गत चैत्रमा बेरुजु फर्छ्यौट गरेको स्रोतले जनाएको छ।

भ्रष्टाचारको मुद्दासमेत खेपिरहेका शैल्यशिखरका तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामीले पनि १० अ‌ौँ लाखको सरकारी सम्पत्ति फिर्ता नगरेको देखिएको छ। उनले सोफा १ सेट, ल्यापटप २ थान, अटो लेभल सेट १ वटा, जीपीएस र एवेने लेभल १/१ थान, टोटल स्टेसन मेसिन १ थान गरी १४ लाख ६७ हजार ११८ रुपैयाँ बराबरको समान फिर्ता नगरेको देखिएको हो।

त्यस्तै, सोही भ्रष्टाचारको मुद्दामा मुछिएका अर्का सव-इन्जिनियर दीपकसिंह विष्टले पनि ग्यास सिलिन्डर १ वटा, प्रेसर कुकर २ वटा, ल्यापटप १ वटा, डिजिटल क्यामेरा १ वटा, जीपीएस १ वटा, राइस कुकर १ वटा, पलङ ३ वटा, सोफा १ वटा, डेस्कटप कम्प्युटर १ वटा, स्ट्यान्ड पंखा १ वटना लगायतका ४ लाख १२ हजार ५२३ रुपैयाँ बराबरको सरकार समान फिर्ता गरेका छैनन्।

पूर्वमेयर धामीकै कार्यकालमा वडा नं. ९ का वडाध्यक्ष रामधनी विष्टले २० हजार मूल्य बराबरको मोबाइल सेट १ वटा फिर्ता गरेका छैनन्। त्यस्तै, वडा नं. ८ का वडाध्यक्ष अजव विष्टले ७ हजार मूल्य बराबरका २ वटा टी टेबुल फिर्ता नगरेको देखिएको छ।

त्यस्तै, तत्कालीन कार्यपालिका सदस्य नवीन पार्कीले मल्टिमिडिया प्रोजेक्टर १ थान, मोबाइल, ल्यापटप, सोफासेट १/१ थान लगायत २ लाख १४ हजार १९७ रुपैयाँ बराबरका समान फिर्ता गरेका छैनन्।

पूर्व मेयर धामीको कार्यकालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका सुरेन्द्रसिंह विष्टसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ। जसमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब-इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *