बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न


धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण तथा बीमा सम्बन्धी बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतित्थ्यता कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बिशेष अतिथिको रुपमा कृष्णपुर नगरपालिकाकी नगर उपप्रमुख द्रोपदी राना उपस्थित थिइन् भने अतिथिका रुपमा कृष्णपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत विष्णु जोशी र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख सागर बमको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, बिभिन्न कृषि सहकारीका प्रतिनिधिहरु र कृषकहरु सहभागी भएका थिए ।

कार्यक्रममा ७० जना भन्दा बढिको सहभागिता रहेको थियो । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले स्वागत मन्तव्य सहित नेपाल बीमा प्राधिकरणको परिचय, भूमिका, बीमाको परिभाषा तथा महत्वका साथै कृषि, पशुपन्छी तथा लघुबीमाको बारेमा प्रस्तुति दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु तथा कृषि सहकारी सस्थाका सदस्यहरु, अगुवा कृषकहरुका साथै अन्य सरोकारवाला व्यक्तिहरुले बीमा कम्पनीमा बीमा दाबी लिन झन्झटिलो रहेको, दुख दिएको र कुनै बीमा कम्पनीले बीमा गर्न नमानेको जस्ता थुप्रै गुनासो तथा जिज्ञासा राखेका थिए भने उक्त गुनासो तथा जिज्ञासाहरुको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारी, सहायक निर्देशक दिपक ज्ञवाली र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख सागर बमले दिएका थिए ।

प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले कृषि, पशुपन्छी तथा जडिबुटीको बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिएको र २० प्रतिशत अनुदान सुदुरपश्चिम प्रदेश सरकारले दिने ब्यबस्था गरेको हुदा सबैलाई बीमा गर्न आग्रह समेत गरेका थिए ।

अधिकारीले कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझा समक्ष नगरपालिकाबाट पनि बीमाको बिकासमा सहयोग पुर्याउन बिभिन्न बीमाका योजनाहरु ल्याई न्यून आय भएका तथा पिछडिएका बर्गका मानिसहरुलाई बीमा मार्फत सुबिधा प्रदान गर्न र नगरपालिका भित्र बसोबास गर्ने मानिसहरुको सम्पत्तिको अनिबार्य बीमा गर्ने नीति लागु गर्न पनि अनुरोध गरेका थिए ।

न्यून आय भएका तथा पिछडिएका बर्गका मानिसहरुमा बीमाको पहुँच पुर्याउन सरकारले लघुबीमा कम्पनी स्थापना गर्ने नीति लिएको हुदा नेपाल बीमा प्राधिकरणले सुदुरपश्चिम प्रदेशको धनगढी, कैलालीमा लघुबीमा कम्पनी स्थापना गर्ने निर्णय गरेको प्रदेश कार्यालय प्रमुख अधिकारीले बताए ।

साथै कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले यस्तो महत्वपूर्ण कार्यक्रम यस नगरपालिकामा राख्नु भइ कृषकहरुको गुनासो सुनेकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिए । साथै, उनीहरुले यस नगरपालिकाबाट गर्न सक्ने र हुन सक्ने सहयोग हामि गर्नेछौ भन्ने कुरा पनि व्यक्त गरे । उनले जीवन बीमालाई भन्दा पनि निर्जीवन बीमालाई बढी महत्व दिन प्राधिकरणलाई अनुरोध समेत गरे ।

त्यसैगरी अन्त्यमा नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले यस कार्यक्रमलाई सफल बनाउन महत्व पूर्ण सहयोग गरेकोमा नगरपालिकालाई तथा उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *