काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, आत्महत्या हुनसक्ने प्रहरीको भनाइ


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाकाका अनुसार काभ्रेस्थलीका दिनेश पाण्डेको घरमा पाण्डेसहित उनकी श्रीमती र छोराछोरी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्किएका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । प्रहरीका अनुसार उनीहरूको झै-झगडा भइरहने र केही समयअघि दुई पटकसम्म बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको समेत प्रहरीले जनाएकाे छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘हामीले प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कलहबाट नै यो घटना भएको अनुमाग गरेका छाैँ । भित्रबाट चुकुल लगाएको, तीन जना भुइँमा लडेको र दिनेश झुण्डिएको अवस्था देख्दा हत्या पछि आत्महत्या भएको हाे भन्न सकिन्छ । तर हामी घटनाकाे सबै अनुसन्धान नगरी यही नै हाे भन्न सक्दैनाैँ ।’

बिहान अबेरसम्म पनि घरमा सुनसान भएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरू मृत फेला परेको खबर प्रहरीलाई दिएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले भने, ‘यो अनुमान मात्र हो । डिटेल आउन केही समय लाग्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । हामीले यो अनुमान मात्र लगाएका हौँ । यहि सत्य नहुन पनि सक्छ ।’

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *