दार्चुलाको शाैल्यशिखरमा ६ महिनादेखि तलब पाएनन् हटाएका कर्मचारीले


धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले माघ महिनादेखिको तलब पाएका छैनन्। हालको स्थानीय निर्वाचन पश्चात गठन भएको नयाँ नेतृत्वको नगरकार्यपालिकाले हाल ती कर्मचारीहरुलाई हटाएपनि तलब भने दिएको छैन।

विगतमा कांग्रेस नेतृत्वमा नगरपालिका छँदा करारमा भर्ना गरिएका कर्मचारीहरु हालको स्थानीय निर्वाचन पश्चात एमालेको नेतृत्व आएसँगै ती कर्मचारीहरु हटाएको तर आफूहरुले असार मसान्तसम्म काम गरेको भएपनि नगरपालिकाबाट माघ महिनादेखि हालसम्म तलब नपाएको पशु सेवा शाखाका नाप्रास जितेन्द्रसिंह धामीले बताए। उनले भने ‘भर्ना गर्ने बेला हामीलाई नगरपालिकाले लिखित र मौखिक परिक्षा गरेर भर्ना गरेको हो। तर हालको सरकारले आफूहरुमाथि अनायासै अन्याय गरेको र माघदेखि काम गरेको तलब सुविधाहरुपनि दिएको छैन।’ उनले थपे, ‘यसरी देशका धेरै स्थानीय तहहरुमा पनि करारमा रहेका कर्मचारीहरु नयाँ नेतृत्वले हटाएको छ। अदालतले हटाएका ती कर्मचारीहरुलाई पुन:स्थापना गरेको प्रसस्त उदाहरण छ। हामी पनि त्यहीँ नजिर अनुसार अदालत जाने प्रकियामा छौं।’

यसबारेमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले युगदर्पण  संग भने, ‘यस आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तलबभत्ता फुकुवा भएपछि हामीले ती कर्माचारीहरुको तलबभत्ता वितरण गर्ने तयारी गरेका छौं।’

यस्तै शैल्यशिखर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ वडाध्यक्ष भरतबहादुर खडायतले रोकिएको तलब केही समयपछि कर्मचारीहरुलाई दिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *